काठमाडौं–राष्ट्रपति उम्मेदवार छान्न मंगलबार मध्यरातसम्म बसेको एमाले स्थायी समिति बैठकमा कतिपय नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्र एउटा गुटका पक्षमा चलखेल गरेको आरोप लगाएका छन् । राष्ट्रपति भण्डारीको सचिवालयले एउटा गुटका पक्षमा निरन्तर काम गरेको भन्दै बैठकमा राष्ट्रपतिमा भण्डारीको उम्मेदवारीको विरोध भएको एक नेताले स्रोतलाई बताए ।


ADVERTISEMENT


उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराईले भण्डारीमाथि त्यस्तो आरोप लाउँदै उनको उम्मेदवारीको विरोध गरेका थिए । ‘राष्ट्रपतिमा कमरेड जेएन (झलनाथ खनाल)ले पनि इच्छा देखाउनु भएको छ, वर्तमान राष्ट्रपतिज्यूले पनि दोहोरिने चाहना व्यक्त गर्नु भएको छ, यसमा छलफल गरौं’ भन्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक सुरु गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसपछि नेता झलनाथ खनालले आफू किन राष्ट्रपतिको उम्मेदवार बन्न लागेको भन्नेबारे बोले । बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी पद्दति अनुसार नचलेको, प्रक्रियाहरू मिचिएको भन्दै असन्तुष्टि व्यक्त गरे । तर उनले राष्ट्रपति उम्मेदवारबारे भने केही बोलेनन् ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राष्ट्रपति भण्डारीको सचिवालय पार्टीभित्र एउटा गुटको पक्षपोषण गर्न प्रयोग गरिएको भन्दै उनको उम्मेदवारीको विरोध गरेकी थिइन् । अन्तिम समयसम्म पनि भण्डारीलाई राष्ट्रपतिमा दोहो¥याउने निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेख्ने अडान शाक्यले राखेकी थिइन् ।

उपमहासचिव घनश्याम भुषालले पार्टी विधि र प्रक्रियाका आधारमा नचलेको र बलमिच्याइँ गरिएको भन्दै विरोध गरे ।
‘अध्यक्ष ओलीविरुद्ध म संसदीय दलको नेतामा उम्मेदवारी दिन चाहन्थें, तर मलाई संसदीय दलको बैठकबारे अन्तिम समयसम्म जानकारी दिइएन,’ भुषाललाई उद्धृत गर्दै बैठकमा उपस्थित एक नेताले बताए ।

अघिल्लो दिन बसेको स्थायी समिति बैठकमा भोलिपल्ट हुने संसदीय दलको बैठकबारे केही जानकारी नदिएको र १२ बजे हुने संसदीय दलको बैठकबारे आफूले ११ः४५ मा मात्र थाहा पाएको भुषालले उल्लेख गरेका थिए । ‘म संसदीय दलको नेता उठ्ने पक्षमा थिएँ किनभने तपाईँ एक व्यक्ति एक पद सिद्धान्तको मान्छे, संसदीय दलको नेतामा उठ्नु हुन्न भन्ने मलाई लागेको थियो,’ भुषाललाई उद्धृत गर्दै ती नेताले भने।

राष्ट्रपतिले आफ्नो सचिवालयलाई पार्टीभित्रको एउटा समूहलाई खुलेआम सघाउने र अर्को समूहविरुद्ध काम गर्ने थलो बनाएको आरोप पनि भुषालले लगाए । सचिव योगेश भट्टराईले पनि राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेर भण्डारीले पार्टीभित्र खेलेको भन्दै उनको उम्मेदवारीप्रति असन्तुष्टि जनाएका थिए।

भण्डारी र झलनाथ खनालको सम्भावित उम्मेदवारीबारे सबै स्थायी समिति सदस्यले बोलेको र पार्टी सञ्चालनबारे पनि लामो बहस चलेकाले बैठक मध्यरातसम्म लम्बिएको एक एमाले नेताले जानकारी दिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी सञ्चालनका विषयमा कमीकमजोरी भएको भए आफू सच्चिन तयार रहेको भन्दै सो विषयमा छलफल र निर्णय गर्न छुट्टै बैठक बोलाउने वचन दिए ।

बैठकको अन्तिमतिर खनालले राष्ट्रपतिमा आफ्नो दाबी फिर्ता लिए । उनले भने–तपाईँले पार्टी विधिअनुसार चलाउनु हुनेछ र सबैलाई समेटेर जानुहनेछ भन्ने मेरो आशा छ ।

खनालले दाबेदारी छोडेपछि एमालेले भण्डारीलाई नै राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गर्यो।