काठमाडौं– जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले फोरम र राजपा पनि केपी ओली नेतृत्वको सरकारमा सहभागि हुने दाबी गरेका छन् । उनले यी २ पार्टीलाई सहभागी गराएर भोलि वा पर्सीसम्म मन्त्रिमण्डल विस्तार हुने समेत बताए ।


ADVERTISEMENT


मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले एक÷दुई दिनभित्रमै सरकार विस्तारको प्रयास भइरहेको बताउँदै ढिलोमा एक हप्ताभित्रमा पूर्णता दिने बताए । मन्त्री पण्डितले फोरम र राजपासँग धेरै कुरामा सहमति भैसकेको र स–साना कुरा मिल्न मात्रै बाँकी रहेको पनि स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


मन्त्रालय व्यवस्थापनका कारण पनि सरकार विस्तार प्रभावित भएको उनले बताए । “१३ वटा मन्त्रालय घटाएर ३० बाट १७ वटा बनाइएको छ । विभिन्न विभाग र निकाय व्यवस्थापन हुँदैछ ।” उनले भने । मन्त्री पण्डितले अहिलेको अवस्थामा प्रतिपक्षको आवश्यकता नरहेको भन्दै कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरे ।

“कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम पठाउनुस्, हामी सरकारमा सहभागी गराउँछौँ । कोही पनि प्रतिपक्षमा बस्न नपरोस भन्ने हाम्रो चाहना छ ।” उनले भने । आफूहरुले कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनेगरि गृहकार्य गरेको उनको भनाई थियो ।

अब देशलाई विकास र सुशासनको दिशामा लैजानुपर्ने भएकाले कोही पनि सरकार बाहिर बस्न आवश्यक नरहेको उनको तर्क थियो । मन्त्री पण्डितले देशभरिका प्रमुख शहरहरुको प्रदुषण हटाउनका लागि आफू लागिपरेको बताए ।

मन्त्री पण्डितले धेरै वर्ष लागेर बिग्रिएको काठमाण्डौंको वातावरण एकै रातमा ठीक पार्न नसकिने भन्दै देशभरिका प्रमुख शहरहरुमा एक वर्षभित्रमा माक्स लगाउन नपर्ने गरी काम सुरु गरेको विश्वास दिलाए ।