काठमाडौं–पाँच सय र हजारका नक्कली नेपाली नोट सहित ६ जना पक्राउ परेका छन् । धनुषाका धिरज बहादुर शाही, भोजपुरका निगम राई, ललितपुर गोदावरी बस्ने मनोज केसी, सोलुखुम्बु स्थायी घर हुने भेष कुमार थापा मगर, रामेछापका नेमा तामाङ र तलितपुर ताल्छिखेलका आशिष माझीलाई काठमाडौंको बल्खु र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए ।


ADVERTISEMENT


शनिवार काठमाडौंको बल्खु स्थित एक औषधी पसलमा औषधी किन्न गएका धिरज बहादुर ठकुरी र निगम राईले दिएको पैसा शंका लागेपछी औषधी पसलेले प्रहरीलाई खबर गरेका थिए । ‘धिरज र निगमको लिंक पछ्याउँदै जाँदा अन्य चार जना पक्राउ परेका हुन्’ डिएसपी क्षेत्रीले भने, ‘पक्राउ परेकहरुलाई खोटाचलन अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’


ADVERTISEMENT

# # #


पक्राउ परेकाहरुको साथबाट प्रहरीले पाँच सय र हजारका २१ हजार बरामद गरेको छ । जसमा ३८ थान पाँच सयका नोट छन् भने २ थान हजारका नोट रहेको बताईएको छ । जाली नोट सहित पक्राउ परेका भेष कुमार थापा नेपाली सेनाका कर्मचारी हुन् । केही दिनअघी मात्रै सैनिक मुख्यालयमा उनले राजिनामा पत्र बुझाएपछी उनको राजिनामा स्विकृत भैनसकेको स्रोतको भनाई छ ।

त्यस्तै नेमा तामाङ नेपाल प्रहरीका पुर्व जवान हुन् । पुर्व एआईजी राजेन्द्रसिंह भण्डारीको ड्राइभरको रुपमा लामो समय काम गरेका तामाङले केही समयअघी जागिर छाडेका थिए ।