काठमाडौं–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमा जान सहमत भएका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सोमबार बिहान भएको वार्तापछि यादव सरकारमा आउन सहमत भएका हुन् ।


ADVERTISEMENT


सरकारमा जाने सहमतिबारे साथीहरूसँग छलफल गरेर फर्किने भन्दै केहीबेरअघि यादव बालुवाटारबाट निस्किएको बालुवाटार स्रोतले बतायो । संविधान संशोधनबारे ‘आपसी छलफलद्वारा सहमति कायम गरी आवश्यक संविधान संशोधन गर्न सकिने छ’ भन्ने वाक्य लेख्न एमाले, माओवादी र फोरम सहमत भएका छन्।


ADVERTISEMENT

# # #


फोरम सरकारमा सहभागी हुन दुई मन्त्रालय पाउनु पर्ने माग राखेको छ । तर मन्त्रालयको टुङ्गो लागि नसकेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उपेन्द्र यादव आफैं परराष्ट्रमन्त्रीको रूपमा सरकारमा सहभागी हुने लगभग सहमति भएको छ ।

फोरम पनि सरकारमा आउने भएपछि एमाले र माओवादीबीच पहिला टुङ्गो लागेका मन्त्रालयको भागबन्डा फेरिने भएको छ । फोरमले पाउने मन्त्रालयको संख्या टुङ्गो लागेपछि माओवादी र एमालेको मन्त्रालय संख्या पनि टुङ्गो लाग्नेछ ।

नयाँ राजनीतिक विकासले गर्दा मन्त्रिपरिषद् आज पूर्ण रूपमा विस्तार नहुने बालुवाटार स्रोतले जनायो । ‘सम्भवतः आज एमाले र माओवादीका दुई/दुई जना मन्त्रीले मात्र सपथ लिनेछन्’, स्रोतले भन्यो ।

एमालेबाट आज ईश्वर पोखरेल र अर्का एक मन्त्री तथा माओवादीबाट रामबहादुर थापा ‘बादल’ र मातृका यादवले सपथ लिने सम्भावना छ ।