काठमाडौं–सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपलाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।


ADVERTISEMENT


कान्तिपुर दैनिकविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाई गर्दै आइतबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिक सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र पत्रकार कृष्ण ज्ञवालीलाई ३ दिन भित्र बयानका लागि आफै उपस्थित हुन आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


कान्तिपुरले आचारसंहिता पालना गरे नगरेको छानविन गर्न प्रेसकाउन्सिलका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीका ४ जन्ममिति, नागरिकतामै ३ वटा जन्ममिति लगायतका शीर्षकमा समाचार लेखेको भन्दै कान्तिपुरविरुद्ध तोयानाथ ढुंगानाले अदालतको अवहेलना मुद्दा हालेका थिए ।

उक्त मुद्दाको सुनुवाई गर्दै जन्ममिति विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीको इजलासले बयानका लागि उनीहरुलाई बोलाएको हो । कान्तिपुरले संविधान र कानुनको व्यवस्थालाई लत्याउँदै अदालत, न्यायाधीश र प्रधानन्यायाधीशको मानमर्दन गर्ने गरी अनर्गल, भ्रामक समाचारलेखेको प्रधानन्यायाधीस पराजुलीले आफ्नो आदेशमा उल्लेख गरेका छन् ।

‘सत्यतथ्यमा आधारित नभएका समाचार प्रकाशन गरी संविधान तथा कानून प्रतिकुल हुने कार्य गरेको प्रथम दृष्टिमै देखिन आएकोले,’ आदेशमा भनिएको छ, ‘अदालतको अवहेलनामा किन कारबाही नगर्ने हो ? आफूउपर कारबाही र सजाय गर्न नपर्ने आधार र कारण भए समाह्वान म्याद प्राप्त भएको मितिले ३ दिन भित्र म्याद थाम्न नपाउने गरि यस अदालतमा बयान गर्न स्वयं उपस्थित हुनू ।’

प्रधानन्यायाधीशको इजलासले पटकपटक आचार संहिता उल्लङ्घन गर्ने पत्रकारलाई सरकारबाट पाउने सुविधा र सहुलियतमा रोक लगाउने व्यवस्था प्रेस काउन्सिललाई सम्झाएका छन् । कान्तपुरमाथि कारबाहि गर्न प्रेस काउन्सिललाई समेत अन्तरिम आदेश गरेको छ ।

‘विपक्षी कान्तिपुर दैनिकमा विभिन्न मितिमा प्रकाशित उल्लिखित समाचार सामाग्रीहरुले पत्रकार आचारसंहिता उल्लङघन गरे नगरेको तर्फ तत्काल छानबिन गरी जनमानसमा भ्रम पैदा गर्ने समाचारहरु पुनः प्रकाशन हुन नदिने लगायतका प्रेस काउन्सिल ऐनले दिएका अधिकारको तत्काल कार्यान्वयन गर्नू,’ उनको आदेशमा उल्लेख छ ।