काठमाडौँ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पनि व्यवस्थापिका–संसद् बैठक बहिष्कार गरेको छ ।


ADVERTISEMENT


बैठक सुरु हुनेबित्तिकै मोर्चामा आबद्ध सांसदहरु उभिएपछि सभामुख ओनसरी घर्तीले सांसद अकबल अहमद साहलाई बोल्न अनुमति दिएकी थिइन्। सांसद साहले आफूहरुले सञ्चारमाध्यममार्फत सरकारले सीमाङ्कनको विषय छाडेर नयाँ संविधान संशोधन प्रस्ताव दर्ता गर्दैछ भन्ने जानकारी पाएको बताउँदै हाल विचाराधीन संशोधन प्रस्ताव पारित गर्नुपर्ने माग गरे ।


ADVERTISEMENT

# # #


उनले संविधानको धारा २७४ खारेज गरेर एक अधिकारसम्पन्न सीमाङ्कन निर्धारण सङ्घीय आयोग गठन गर्न माग गर्दै आयोगले प्रतिवेदन तयार पारी संसद्मा प्रतिवेदन आएपछि मात्र संशोधन फिर्ता हुनुपर्ने बताए।

सांसद साहले स्थानीय निकाय पुनःसंरचना आयोगले निर्धारण गरेको तह निर्धारण आफूहरुलाई मान्य नभएको जनाउँदै उनले जनसङ्ख्यानुसार तह निर्धारण नभएसम्म मोर्चाले निर्वाचनमा भाग नलिने र हुन पनि नदिने जिकिर गरे ।

संशोधन विधेयक पारित गरी मोर्चाको माग पूरा नभएसम्म निर्वाचन सम्भव नहुने बताउँदै उनले मोर्चाका तर्फबाट आजको बैठक बहिष्कार गरिएको जानकारी गराए।