काठमाडौं–नेकपा एमालेका नेता रघुवीर महासेठले फोरम र राजपा बिना शर्त सरकारमा सहभागी हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता महासेठले एमाले–माओवादी संविधान संशोधन गर्न तयार रहेकोले फोरम र राजपालाई बिना शर्त तत्काल सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने,‘उहाँहरुले अब सरकारमा आउन ढिलाई गर्नुहुँदैन्, उहाँहरु बिना शर्त सरकारमा पहिले आउनुपर्यो, यदि उहाँहरुको समस्या समाधान भएन भने उहाँहरु पछि फर्किनपनि सक्नुहुन्छ।’

उनले आफूहरु फोरम र राजपालाई सरकारमा आउनको लागि आग्रहरत रहेको पनि विश्वास दिलाए । उनले उपेन्द्र यादव नेतृत्वको संघीय फोरम सरकारमा आउने विषयमा आफुहरु सकारात्मक रहेको पनि सुनाए । ‘नयाँ नेपाल बनाउन एमाले र माओवादी केन्द्रका नेतृत्वमा करिब दुई तिहाईको सरकार छ, तर यसमा उहाँहरुको पनि योगदान होस् भन्ने हाम्रो चाहना छ’ उनले भने ।

यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले भने,‘संविधान संशोधन भयो भनेमात्रै हामी सरकारमा जानेबारे सोच्न सक्छौं, अहिले हामीले सरकारमा सहभागी हुनेबारे केही पनि सोचेको छैन ।’

हिजोको दिनमा संविधान संशोधन भैरहँदा संशोधन गर्नै हुँदैन भनेर क्रान्तिकारी भाषण गर्ने र दुई तिहाई पुर्याउन नदिने दल नेकपा एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै झाले भने,‘हामी त संशोधनको पक्षधर हौं, तर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संशोधनको लागि ईच्छुक हुनुहुन्छ कि हुनुहुँदैन् ? उहाँहरुसँग अहिले प्रचण्ड बहुमत छ, हामी पनि भयौं भने दुई तिहाई भन्दा बढि बहुमत हुन्छ।’

झाले एमाले–माओवादीसहित राजपा र फोरम पनि मिल्यो भने संशोधनको लागि प्रचण्डभन्दा प्रचण्ड बहुमत पुग्ने र संविधान संशोधन रातारात हुने अर्थात तुरुन्त हुने विश्वास दिलाए । उनले संशोधन नगरी आफूहरु सरकारमा नजाने अडान दोहोर्याए ।

नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले भोलि नै मन्त्रिमण्डल विस्तार हुने दाबी गरे ।