काठमाडौं – सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनमा करण केसी, बसन्त रेग्मी, सागर पुन र आरिफ शेख महँगो मूल्यमा बिक्री भएका छन् । राजधानीमा जारी डीपीएल क्रिकेटको अक्सनमा करण, बसन्त, सागर र आरिफ अधिकतम मूल्यमा बिक्री भएका हुन् ।


ADVERTISEMENT


अक्सनको ए क्याटेगोरीमा रहेका राष्ट्रिय टिमका सदस्य करण, बसन्त, सागर र आरिफ अधिकतम मूल्य १ लाख ५० हजारमा बिक्री भएका हुन् । अक्सनबाट करण र आरिफलाई महेन्द्रनगर युनाइटेडले किनेको हो । अक्सनमा करणलाई सबै ६ टोलीले बिड लगाएको थियो । तर, गोलाप्रथाबाट करणलाई महेन्द्रनगरले आफ्नो बनायो ।


ADVERTISEMENT

# # #


यस्तै सागरलाई रुपन्देही च्यालेन्जर्सले बोली लगाउँदा बसन्तलाई विराटनगर किंग्सले क्लबमा भित्रायो । ए क्याटेगोरीमा रहेका खेलाडीको न्यूनतम मूल्य ७५ हजार रहेको थियो ।

अक्सनबाट ए क्याटेगोरीतर्फ नै पृथु बास्कोटा र नरेश बुढाएर पनि १ लाख बढी मूल्यमा बिक्री भएका छन् । पृथुलाई विराटनगर किंग्सले १ लाख २० हजारमा किनेको छ भने नरेशलाई काठमाडौं गोल्डेन्सले १ लाख २० हजारमै खरिद गरेको छ ।

त्यस्तै जितेन्द्र मुखियालाई रुपन्देही च्यालेन्जर्सले ९० हजार, राजेश पुलामी मगरलाई टिम चौराह धनगढीले ८० हजार र अभिनाष कर्णलाई महेन्द्रनगरले ८० हजारमै क्लबमा भित्राएको छ । यस्तै प्रदीप ऐरीलाई रुपन्देहीले ८० हजारमा खरिद गर्दा सुबास खकुरेललाई सिवाईसी अत्तरियाले ८० हजार मै किनेको छ ।

ए क्याटेगोरीमा रहेका १६ खेलाडीमध्ये ५ खेलाडी भने बिकेका छैनन् । पहिलो चरणमा मेहबुब आलम, राहुल विक, सन्जम रेग्मी, चन्द्र साउद र मन्जित श्रेष्ठ बिकेनन् ।

अक्सनको बि क्याटेगोरीतर्फ सबैभन्दा बढी खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छन् । अक्सनबाट सोनु तामाङ, अनिल कुमार साह, कुशल भुर्तेल, रोहित कुमार पौडेल, भुवन कार्की, बिक्रम कुमार भुसाल, दिलिप नाथ, किशोर महतो, ललित सिंह भण्डारी र योगेन्द्र सिहं कार्की अधिकतम मूल्य १ लाखमा बिक्रि भएका छन् ।

यस्तै अमित श्रेष्ठ, ललित नारायण राजवंशी, शौरभ खनाल, राम नरेश गिरी,पवन शराफ, कृष्ण कार्की, शाहब आलम, कृष्ण कार्की,सिधान्त लोहनी, सुशन भारी र सुनील धमला पनि अधिकतम मूल्य १ लाख रुपैयाँमा बिक्रि भएका छन् ।

काठमाडौं अन्नपूर्ण होटलमा जारी अक्सनमा २०२ खेलाडीमाथि बिड भईरहेको छ । अक्सनबाट प्रत्येक टोलीले १२ खेलाडी छनोट गर्नेछन् ।

धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा चैत १७ गतेदेखि वैशाख १ सम्म डीपीएल सञ्चालन हुनेछ । दोस्रो संस्करणको डीपीएलको विजेताले २५ लाख नगद पाउनेछ । त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद प्राप्त गर्ने छन् ।

टि–२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा पत्येक टिमले अन्य टिमसँग १–१ खेल खेल्ने छन् । शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्ने छन् । त्यसमा पहिलो र दोस्रो हुने टिमबीचको खेलबाट विजेता टिम फाइनलमा पुग्ने छ । पराजित हुने टिम तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन् ।