काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निर्वाचन, संविधान संशोधन र मन्त्रिपरिषद्को बैठक प्रभावित भएको विषयमा ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


बैठकको विशेष र शून्य समयमा नेकपा (एमाले) का सत्यनारायण मण्डलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीस्थित आफ्नो घरमा आइतबार आमा, श्रीमती र बुहारीलाई अभद्र व्यवहार गरेको बताउँदै दोषीलाई कारबाहीको माग गरे। सोही पार्टीका केशवप्रसाद बडालले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रलाई महत्वपूर्ण सहयोगी बनाउन विश्व सहकारी आन्दोलनलाई सम्मान हुने गरी सहकारी ऐनमा परिमार्जन गर्न आवश्यक रहेको बताए।


ADVERTISEMENT

# # #


एमालेकै हर्कबोल राईले भूकम्प प्रभावित जिल्लामा अहिलेसम्म पुनःनिर्माणको कामले गतिलिन नसकेको गुनासो गरे। सांसद रेवतीरमण भण्डारीले संसद्मा उठेका विषयलाई रिपोर्टिङ गर्न सरकारका कर्मचारी संसद्मा नदेखिएकामा चिन्ता व्यक्त गरे । उनले भने, “मन्त्रीले मन्त्रिपरिषद् बैठकमा जान्न भन्नु राम्रो होइन ।” नेकपा (माओवादी केन्द्र) का जनकराज जोशीले स्थानीय तह पुनःसंरचनासम्बन्धी प्रतिवेदन संसद्को जानकारीमा ल्याउन माग गरे। सोही पार्टीका श्यामकुमार श्रेष्ठ (काभ्रे) ले पनि सो मागमा समर्थन गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कान्ता भट्टराईले सनातन हिन्दू धर्मको मान्यता र पालना गर्न सकेमा मात्र राष्ट्रले प्रगति गर्नसक्ने बताए ।नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सिरियामा अमेरिकाले गरेको आक्रमणको निन्दा गर्दै बलियो देशले कमजोर मुलुकलाई आक्रमण गर्ने यो शैलीले नेपाल सरकारले निन्दा गर्नुपर्ने माग गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विगत तीन हप्तादेखि उपप्रधानन्त्रीबीचको मर्यादा विवाद कारण मन्त्रिपरिषद्को बैठक बस्न नसकेको सन्दर्भमा प्रश्न गर्दै यस्तो अवस्था आउनु दुर्भाग्य हो, यसले जनतामा राम्रो सन्देश नजाने कुरा व्यक्त गरे।

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले लोकतन्त्रमा शान्तिपूर्ण निर्वाचन हुनुपर्ने भन्दै संविधान संशोधनको प्रस्तावमाथि कहिलेबाट हुने हो भन्नेमा आफूहरुलाई स्पष्ट पारिनुपर्ने बताए ।

मधेसी सांसदको बहिष्कार

मधेसी मोर्चामा आवद्ध दलका सांसदहरुले आजको बैठक पनि बहिष्कार गरेका छन्।

बैठक आरम्भ हुँदासाथ थरुहट पार्टी नेपालका गोपाल दहितले संविधान संशोधनको आफूहरुको मागबारे सरकारले नसुनेको र संसद्ले पनि बेवास्ता गरेको गुनासो गरे । उनले आफूहरु निर्वाचनको विरोधी नभएको तर राजनीतिक वातावरण नबनेसम्म स्थानीय निर्वाचन हुनसक्ने अवस्था नरहेको बताए ।

उनले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने र संसद्को बैठक पनि बहिष्कार गर्ने घोषणा गरेपछि मोर्चा निकट सांसद्हरु नाराबाजी गर्दै बाहिरिएका थिए ।