काठमाडौं-कप्तान पारस खड्काले मोहमाद नाभेदले बलिङ गरेको अन्तिम ओभरमा छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरे । एकै ओभरमा तीन छक्का प्रहार पनि गरे । तर, त्यतिबेलासम्म नेपालको हातबाट खेल बाहिरी सकेको थियो ।


ADVERTISEMENT


पारसले मात्र १०३ बलमा बनाएको १ सय १२ रन त्यतिकै खेर गयो । नेपाल ७ रनले पराजित हुन पुग्यो । युएईले प्रस्तुत गरेको २७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७० रनमा सिमित बन्यो ।


ADVERTISEMENT

# # #


यो सँगै युएईले समूह चरणको खेलमा नेपालसँग बेहोरेको बदला लिन सफल भएको छ । कप्तान पारसले शतकीय इनिङ खेल्ने क्रममा ८ छक्का र तीन चौका प्रहार गरे । खड्कालाई दीपेन्द्र सिंह ऐरी र शरद भेष्वाकरले क्रमशः ३५ र ३० रन बनाउँदै राम्रो साथ दिए ।

त्यस्तै ज्ञानेन्द्र मल्लले २४ रन बनाए भने रोहित कुमार पौडेलले पनि २३ रनको योगदान दिए । अघिल्लो खेलमा नायक बनेका करण केसीको ब्याट भने यो खेलमा चल्न सकेन । युएईका लागि अमिर हयातले ४ तथा इमरान हैदरले २ विकेट लिए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका नेपाली बलरहरुको आज भने जादू चल्न सकेन ।

यसअघि पहिलो ब्याटिङ गर्दै आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगतको फाइनल खेलमा युनाइटेड अरब एमिरेट्स (युएई) ले नेपाल सामु २ सय ७८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको युएईका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । दुवैले पहिलो विकेटका लागि १०९ रनको शतकीय साझेदारी गरे ।

कप्तान रोहन मुस्तफा ५१ रन बनाएर आउट भए भने अर्का ओपनर अस्फाक अहमदले १ सय १४ रन बनाए । सन्दीप लामिछानेको बलमा ४३ औँ ओभरमा आउट हुनअघि उनले १२३ बल खेल्दै ३ छक्का र १० चौका हिर्काए । त्यस्तै रमीज सहजादले ४१ र साइमान अनवरले ४० ले रन बनाए ।

नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र बसन्त रेग्मीले १–१ विकेट लिए । युएईले निर्धा्रित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन बनायो । डिभिजन टुको शीर्ष दुई स्थानमा पक्का गर्दै नेपालले विश्वकप छनौटमा यसअघि नै स्थान बनाइसकेको छ ।