काठमाडौं-चितवन भण्डाराका बासुदेव श्रेष्ठले गत वर्ष स्मार्ट लाइसेन्स लिए । पहिलो पटकको लाइसेन्स त्यहीँ माथि अत्याधुनिक प्रविधिको, खुसी नहुने कुरै भएन तर त्यो खुसी धेरै दिन टिकेन ।


ADVERTISEMENT


१ वर्ष पनि नपुग्दै उनको लाइसेन्समा टाँसिएको चिप्स उप्कियो । चिप्सलाई लाइसेन्सको मुटु मानिन्छ । व्यक्तिको सम्पूर्ण विवरण त्यसैमा हुन्छ, श्रेष्ठले अहिले चिप्स र कार्डसँगै बोकेर हिँड्छन् । चिप्स हराउने डरले भने उनलाई सताइरहन्छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, चितवन रत्ननगर घर भएका सन्देश भण्डारीको व्यथा पनि उस्तै छ । उनको पनि लाइसेन्स लिएको ९ महिनामै चिप्स उप्कियो । त्यो चिप्सलाई भण्डारीले पर्समा राखेका र चिप्स पर्सबाटै हराएको उनको भोगाई छ । चिप्स सानो हुने भएकोले हराउनु ठूलो कुरो होइन ।

श्रेष्ठ र भण्डारी त प्रतिनिधि पात्र मात्र हुन् लाइसेन्सको चिप्स उप्कने समस्या हजारौँको छ । कतिपयले त उप्किएको चिप्सलाई गमले टाँसेका छन् । यस्तो समस्याको गुनासो अत्यधिक आउन थालेपछि यातायात व्यवस्था विभागले कार्डलाई न्यूजिल्याण्डमा परीक्षणको लागि पठायो ।

त्यसमा भएको त्रुटी पत्ता लगाई समस्या समाधान गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराइले बताए । पहिलो लटमा आएको करीब १ लाख ६० हजार कार्डमा यस्तो समस्या रहेको छ ।

यो लटको लाइसेन्सको समस्या त्यति मात्र होइन अस्पष्ट क्याटोगोरी, गैर व्यवसायिक चालक अनुमति पत्र लेखिएको, फोटो चिन्न गाह्रो हुने समस्या थिए ।

यसमा भुल सुधार गर्दै विभागले अस्पष्ट क्याटोगोरीलाई स्पष्ट पारेको छ भने गैर व्यवसायिक चालक अनुमति पत्र लेखिएको ठाँउमा चालक अनुमति पत्र लेखेर सच्याइएको छ ।

तर, यसमा रहेको मान्छे चिन्न गाह्रो हुने श्यामस्वेत फोटोको समस्या भने समाधान हुन सकेको छैन । यसबारेमा आइटी अडिट गराउँदा सफ्टवेयर नै श्यामश्वेत फोटोको लागि मात्र उपयुक्त हुने भएकोले तत्काल यो समस्या हल हुन नसक्ने महानिर्देशक भट्टराइले स्पष्ट पारे ।

पहिलो लटमा स्मार्टकार्ड लिने १ लाख ६० हजार चालकले त्रुटी सहितकै बोक्नुपर्ने छ । चालकले चाहेको खण्डमा प्रतिलिपि निवेदन दिएर अहिलेको कार्ड लिन सक्ने भट्टराइले जानकारी दिए । पछिल्लो समयमा आएका कार्ड चिप्स कार्डबाट छुट्टिने समस्या नभएको उनले बताए ।