काठमाडौं-उपचार खर्च अभावमा धेरै नेपालीको सानो रोगका कारण अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा ‘भिख’ मागिरहेका भेटिन्छन् ।


ADVERTISEMENT


सरकारले थोरै मात्र उपचार खर्च व्यवस्थितरुपमा सर्वसाधरणलाई वितरण गर्न सकेमा धेरैको ज्यान जोगिने अवस्था छ । तर, बाहिरिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूकहाँ पहुँच बनाउने र आफ्ना आसेपासेलाई मुठ्ठी खोलेर राज्यकोषको रकम धमाधम बाँडिरहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै मुठ्ठी खोलेर काठमाडौंका स्थायीबासिन्दा तथा धनाढ्य एक मन्त्रीलाई देउवाले धक फुकाएर राज्यकोषको रकम प्रदान गरेका छन् । यी मन्त्रीलाई न त कुनै ठुलो रोग लागेको छ न नै कुनै ठुलो विपत्ति या संकट ? बाहिरिने बेलामा उनले पनि राज्यको ढुकुटीबाट ठुलै पोको लिएर निस्कने भएका छन् ।

काठमाडौंका स्थायीबासिन्दा तथा धनाढ्य मन्त्रीकारुपमा चर्चित देउवा सरकारका रक्षामन्त्री भीमसेनदास प्रधानले बाहिरिने बेलामा ५० लाख रुपैयाँ आर्थिक सहयोग लिएका छन् । मन्त्रिपरिषद्बाट निर्णय गराएर काठमाडौं-२७ का स्थायी बासिन्दा रक्षामन्त्री भीमसेनदास प्रधानले ५० लाख रुपैयाँ सहयोग लिएपछि आलोचना सुरु भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उपचारका लागि भन्दै मन्त्री प्रधानले आफैंले प्रस्ताव गरेपछि उनका लागि ५० लाख दिने निर्णय भएको पनि ती मन्त्रीले जानकारी दिए ।

मन्त्री प्रधानले नै क्याबिनेट बैठकमा आफुलाई उपचार खर्च वापत ५० लाख रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेका थिए । मन्त्री प्रधानले त्यस्तो प्रस्ताव राख्दा अन्य मन्त्रीहरु एकापसमा मुख हेराहेर गरेका थिए । कुनै पनि किसिमको प्राणघातक रोग लागेको प्रमाणित नभएका मन्त्री प्रधानले त्यो प्रस्ताव राख्दा अन्य मन्त्रीहरुबीच मुखामुख भएको थियो ।

काठमाडौंका रैथाने करोडपति मन्त्री प्रधानको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरी उपचार खर्च वापत यति ठूलो रकम एकैचोटी उपलब्ध गराउने निर्णय शुक्रबारै गरिसकेको छ । काठमाडौं-६ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद् समेत रहेका प्रधानको करोडौँ सम्पत्ति रहेको कुरा उनले पेश गरेको सम्पत्ति विवरणले नै प्रष्ट देखाएको छ ।

कति छ प्रधानको सम्पत्ति ?
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण उनीसँग करोड भन्दा माथिको सम्पत्ति छ । उनीसँग काठमाडौं महानगरपालिका-२७ मा ५ आना ३ पैसा २ दाम जग्गा छ । त्यसैगरी नागर्जुन नगरपालिका-६ इचङ्गुमा ४२५.०६ वर्गमिटर क्षेत्रफलमा फैलिएको जमिन पनि उनीसँगै छ ।

उनको घर अहिले काठमाडौँ महानगपालिका-२७ स्थित ज्याठामा रहेको छ । प्रधानले आफ्नो जग्गाजमिन तथा अन्य जायजेथाको सबै विवरण समेत पेस गरेका छैनन् । उनको सम्पति विवरणमा सात थान हिराजडित गहना पनि रहेको उल्लेख गरिएको छ ।

त्यसैगरी २० तोला सुन र ७ किलोग्राम चाँदीका गहना आफूसँग रहेको उनले जनाएका छन् । त्यसैगरी नेपाल बैँक लिमिटेड कान्तिपथमा ७५ हजार र एभरेष्ट बैंक सिंहदरबारमा ४ लाख ५१ हजार ३५ रुपयाँ रहेको उल्लेख छ । उनको अन्य धेरै स्थानमा भएको लगानी र सेयरको विवरणसमेत सम्पति विवरणमा पेस गरिएको छैन । उनीसँगै अन्य मन्त्रीले पनि आफ्नो धेरै सम्पति लुकाएको आरोप लागिरहेको छ ।

काठमाडौंमा कांग्रे‍सका चर्चित नेताका रुपमा रहेका प्रधानले सम्पत्ति विवरणमा आफ्नो जायजेथा स्पष्ट खुलाएका छैनन् । स्वच्छ छविका नेता मानिने प्रधानले ५० लाख सहयोग लिएपछि पार्टी भित्रैबाट पनि कडा आलोचना खेप्नु परेको छ । उनको स्वच्छ छबिकै कारण वाम गठबन्धनको लहर भएको अवस्था पनि गत निर्वाचनमा काठमाडौंबाट चुनाव लडेर उनी विजयी पनि भए ।

प्रदेश सभामा दुवै सिट एमालेले जित्दा प्रतिनिधि सभामा भने उनले बाजी मारे । क्षेत्र नम्बर ६ को प्रदेश सभामा नेकपा एमालेका केशव स्थापित र योगेन्द्रराज संगौला भारी मतान्तरले बिजयी भए । तर उनले माओवादी केन्द्रका झक्कु सुवेदीलाई सजिलै पराजित गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुस र टुइटरमा करोपति मन्त्रीले ५० लाख लिए भन्दै अहिले उनको कडा आलोचना भइरहेको छ । मन्त्री छोड्ने बेलामा प्रधानले आलोचित हुने गरी राज्य कोषबाट त्यति धेरै रकम किन लिए ? उनको प्रसंशकहरु समेत चकित भएका छन् ।

हेर्नुस् मन्त्री प्रधानको सम्पत्ति विवरणः