काठमाडौं(रासस)-एक व्यक्तिको हत्यामा दोषी ठहरिएका अतिनी भन्ने मुखिया गुरुङलाई भारतमा पक्राउ गरी शुक्रबार नेपाल ल्याइएको छ ।


ADVERTISEMENT


वि.सं २०५८ मा ठमेलको एक डिस्कोमा सुवर्ण गुरुङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले २०६४ साल पुस १ गते अभियुक्त गुरुङलाई जन्म कैद सजायको फैसला गरेको थियो ।


ADVERTISEMENT

# # #


घटनापछि फरार रहेको गुरुङलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले गत मंसिर १२ गते रेडकर्नर नोटिस जारी गरेको थियो ।

गुरुङ गत मंसिर २२ गते भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेसिया जाने क्रममा भारतीय प्रहरीले पक्राउ गरी नयाँ दिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो ।

सो अदालतको फैसला अनुरुप भारत सरकार, विदेश मन्त्रालयले गुरुङलाई नेपाल प्रहरीलाई बुझाएकाले भारतबाट नेपाल प्रहरीले उनलाई आज नेपाल ल्याएको प्रहरी प्रवक्ता नायब महानिरीक्षक मनोज न्यौपानले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पठाइने प्रहरीले जनाएको छ ।