काठमाडौं – प्रमुख तीन विद्यार्थी संगठनले चर्को शुल्क असुल गर्ने मेडिकल कलेजको अनुगमन गर्न २१ सदस्यीय संयुक्त टोली गठन गरेका छन् ।


ADVERTISEMENT


अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा प्रत्येक संगठनबाट ७/७ जना रहने गरी २१ सदस्यीय टोली गठन गरेको बुधबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले मापदण्ड र निर्देशन विपरीत बढी शुल्क असुली गर्ने युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज र किस्ट मेडिकल कलेजमा अनुगमन गर्ने जनाएका छन् ।

बुधबार तीन विद्यार्थी संगठनका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी सरकारलाई कर नतिरेका लिटिल एन्जेल्स, डिएभी, जेम्स, रातो बंगला लगायतका विद्यालयलाइ ६ दिनभित्र कर तिर्न अल्टिमेटम दिएका छन् । उनीहरुले प्रदेश ६ र ७ मा छाउपढी प्रथाविरुद्ध जनचेतनामूलक विषयलाई पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापनको वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

विद्यार्थी संगठनले निजी विद्यालयले शैक्षिक शत्र सुरु हुनुभन्दा अगाडिदेखि नै निजी विद्यालयहरुले नर्सरी, मन्टेसरी र शिशु कक्षादेखि उच्च शिक्षासम्म मनपरी शुल्क लिएको भन्दै त्यसलाई नियमन र निगरानी गर्न माग गरेका छन् ।

विश्वविद्यालयमा दलीय भागवण्डा प्रणाली अन्त्य गरी दक्षता, कार्यकुशलता, र प्रतिस्पर्धाका आधारमा पदाधिकारी चयन गर्न तत्काल ऐन संशोधन गर्न पनि विद्यार्थी संगठनहरुले माग गरेका छन् । उनीहरुले माध्यमिक तहसम्मको शिक्षा पूर्ण निशुल्क घोषणा गरी कार्यान्वयन गर्न पनि माग गरेका छन् ।