मनाङ– हिमालपारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका छ वटा विद्यालय विद्यार्थीविहीन बनेका छन् ।


ADVERTISEMENT


स्थानीय बालबालिकालाई धेरैले काठमाडौँ, पोखरालगायतका शहरमा लैजाने र गाउँघरमा काम गर्ने केही मजदुरका बालबालिका पनि आउन छाडेपछि विद्यालय धान्न मुस्किल भएको तिलिचो आधारभूतका प्रधानाध्यापक यमप्रसाद तिमल्सिनाले बताए ।


ADVERTISEMENT

# # #


तिलिचो आधारभूत, टङ्की आधारभूत, भ्राका आधारभूत, ङावल आधारभूत, ध्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालय विद्यार्थीविहीन बनेका हुन् ।

गत शैक्षिक सत्रसम्ममा २६ जना विद्यार्थी रहेको उक्त विद्यालयमा चालु शैक्षिक सत्रमा जम्मा चारजना विद्यार्थी छन् । भएका विद्यार्थी पनि स्थानीय नभएका र तिनीहरु पनि कामको खोजीमा आमा बाबु अन्यत्र जाने भएका कारण आगामी शैक्षिकसत्रमा विद्यार्थीको उपस्थिति शून्य हुने विद्यालयले जनाएको छ ।

यस्तै, समस्यामा गुुज्रिएको टंकी आधारभूत विद्यालय पनि हो । यो विद्यालय त अहिल्यै विद्यार्थीविहीन भएको छ । छजनाको दरबन्दी रहेको उक्त विद्यालयमा विद्यार्थीको उपस्थिति शून्य छ । स्थानीय बासिन्दाका बालबालिका गाउँमा नराख्ने र मनाङमा मजदुरी गर्न आउने कामदारका बच्चा अभिभावकसँगै कामको सिलसिलामा ठाउँठाउँमा बसाइँ सर्ने भएका कारण यस्तो समस्या आएको टंकी आधारभूतका प्रधानाध्यापक लोकबहादुर सुवेदीले बताए ।

यस्तै हुम्डेस्थित हुम्डे आधारभुत विद्यालयमा विद्यार्थी संख्या सून्य हुँदा सबै कक्षा कोठामा ताला लागेको छ । विद्यार्थी नै नभएपछि विद्यालयमा दुई बर्षदेखि पढाई हुन सकेको छैन । विद्यालयका प्रधानाध्यापक रुद्रनाथ पौडेलले विद्यार्थी नहुँदा दुई बर्षदेखि पठनपाठन सून्य भएको जानकारी गराए ।

विद्यालयमा शिक्षक र कार्यालय सहयोगी गरि १० जनाको दरबन्दी छ । हाल दुई शिक्षक, एक बालविकास सहजकर्ता र एकजना कार्यालय सहयोगी कार्यरत छन । अन्य शिक्षकहरुलाई शिक्षा कार्यालयले अन्यन्त्रै काजमा खटाएको छ ।
गाउँभरी खोजेर बालविकास केन्द्रमा भने ४ जना बालबालिका ल्याएको प्रधानाध्यापक पौडेलल बताए । स्थानीयका बालबालिका विद्यालय आउँदैनन । उनीहरु सबैले जिल्ला बाहिर लगेर आफ्ना केटाकेटी पढाउँछन । गाउँमा काम गर्न आउने मजदुरका छोराछोरा विद्यालय पढ्न आउने गरेकोमा हाल मजदुरहरु गाउँमा नबसेकाले विद्यालयमा पढाई सुकेको हो ।

थोरै जनसंख्या हुनु र त्यसमाथि भएका मानिसले पनि आफ्ना बालबालिकालाई गाउँमै नराख्नाले यस्तो समस्या आएको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताए । आगामी शैक्षिक सत्रदेखि जिल्ला शिक्षा कार्यालय नरहने हुँदा स्थानीय निकायले विद्यालय व्यवस्थापन कसरी गर्छ भन्ने चासो बढेको छ ।