काठमाडौं-भारत सरकारले नेपाललाई दिने बजेटरी अनुदान बढाएको छ । भारतीय अर्थमन्त्री अरुण जेट्लीद्वारा बिहीबार संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) अनुदान दिने प्रस्ताव गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भारत सरकारले कुल ३ अर्ब ७५ करोड भारु अनुदानस्वरूप दिएको थियो ।


ADVERTISEMENT


भारतले आगामी वर्ष नेपालमा स्कुलको महिला छात्रावास बनाउनदेखि प्रहरीको एकेडेमी बनाउनसम्म सहयोगको घोषणा गरेको छ । कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलको महिला छात्रावास निर्माणका लागि २ करोड भारु सहयोग गर्ने भएको हो । यो वर्ष सो छात्रावास भवन र कम्पाउन्ड वाल बनाउन भारतले ३ करोड ६ लाख भारु बजेट विनियोजन गरेको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै नेपाल नेत्रज्योति संघको आँखा उपचार कार्यक्रमका लागि २ करोड भारु सहयोगको घोषणासमेत भारतले गरेको छ । यो वर्ष कार्यक्रमका लागि भारतले २ करोड ७६ लाख भारु सहयोग गरेको थियो । त्यस्तै नेपालको तराईका जिल्लामा पाठेघर खस्ने समस्या समाधानका लागि सामुदायिक अस्पताल बनाउन भारतले ३ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । यो वर्ष कार्यक्रमका लागि ३ करोड ११ लाख रुपैयाँ सहयोग गरेको थियो ।

त्यस्तै, नेपाल प्रहरी एकेडेमीका लागि भारतले ११ करोड ७८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा भारतले गरेको छ । यो वर्ष एकेडेमीलाई भारतले ११ करोड ३३ लाख भारु सहयोगको घोषणा भए पनि ३३ लाख मात्रै खर्च हुन सकेको भारतले जनाएको छ । त्यस्तै, नेपालका विभिन्न स्थानमा विद्यालय भवन तथा स्वास्थ्यचौकी भवन बनाउन पनि भारतले सहयोग घोषणा गरेको छ ।-आजको नयाँ पत्रिकाबाट