रामचन्द्र पाण्डे, काठमाडौँ– प्रदेश नं. ३ को पहिलो ऐतिहासिक प्रदेशसभा संसदको बैठक हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा सम्पन्न भएको छ । साथै बैठकले प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि पास गरेको छ । साथै प्रदेशसभा सञ्चालनका लागि रामेश्वर फुयाल, शोभा शाक्यसहित चार जना रहेको समिति बनेको छ


ADVERTISEMENT


बैठकमा विभिन्न पार्टीका सांसदले आफ्ना विचार राखेका थिए । मुख्यमन्त्रीकी दाबेदार मानिएकी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले आगामी दिनमा आउने चुनौति र अवसरलाई एकजुट भएर सामना गर्न अनुरोध गरिन् । यस्तै माओवादी केन्द्रका सांसद शालिक राम जमरकट्टेलले प्रदेश नं ३ लाई नमूना प्रदेश बनाउनका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताए ।


ADVERTISEMENT

# # #


कांग्रेस सांसद इन्द्र बानियाँले प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र लैनान प्रयास नगर्न चेतावनी दिएका छन् । यसो गरे आन्दोलन हुने र संघीयतामाथि नै प्रश्न उठ्ने उनले बताए । यस्तै विवेकशील साझा पार्टीका सांसद रमेश पौडेलले सबै राजनीतिक मुद्दा सकिएकाले संघियता कार्यान्वयनमा दलहरु जानु पर्ने बताए । उनले भने, ‘अब लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर संघीयतामा प्रवेश गरेका छौं र यो अभ्यासलाई सफल बनाउनुको विकल्प छैन ।’

देशको अवश्यकता र जनचाहना विकेन्द्रकरण र सन्तुलित विकास भएको बताउँदै नेमकिपाका सांसद सुरेन्द्र गोसाईले कसैको अहंकारका कारण समाजको विकास रोकिन नहुने बताए । उनले केन्द्रमा रहेका पक्षपात, भागवण्डा यो प्रदेशमा पस्न नदिएर जनतालाई सम्भावनाको सन्देश दिनसक्नु पर्ने धारणा राखे ।

यस्तै नयाँ शक्तिका सांसद प्रेम तामाङले भूकम्प पीडितहरुको समस्या समाधान नभएको बताउँदै टहरामा बसिरहेका जनताले सभामुखको चुनाव छिटो होस्, छिटो सरकार बनोस् र आफ्नो समस्या समाधान होस् भन्ने चाहेको बताए ।

संघीयता लागूपछिकै पहिलो प्रदेशसभा बैठक भएकाले बैठकस्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति रहेको थियो । ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा बसेको आजको बैठकले प्रदेशसभाको सभामुखका निर्वाचनको लागि माघ २७ गतेलाई तोकेको छ । बैठक माघ २७ गते सोमबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।