काठमाडौं-केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली डाक्टर र स्वास्थ्य संस्थाका सञ्चालकसहित १७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उनीहरूविरुद्ध लागेका ठगी मुद्दामा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद पनि थप भएको छ ।


ADVERTISEMENT


सीआईबीका अनुसार पक्राउ पर्नेमा १३ जना चीनका, १ जना अस्ट्रेलियाका नक्कली डाक्टर र ३ जना नेपालका अस्पताल सञ्चालक रहेका छन् । चिकित्सा विज्ञानसम्बन्धी कुनै अध्ययन नगरेका,मेडिकल काउन्सिलबाट कुनै अनुमति नपाएका यी विदेशी नागरिकहरू मुलुकको अस्पताल, स्वास्थ्य संस्थासँग मिलेमतो गरेर अनधिकृत रूपमा चिकित्सकीय कार्य सञ्चालन गर्दै आएका थिए ।


ADVERTISEMENT

# # #


सीआईबीका अनुसार यी विदेशी नागरिकहरू विभिन्न किसिमको रोग निको पार्ने अनुभव र वरिष्ठ डाक्टरबाट सेवा प्रदान भइरहेको झूटा विज्ञापन दिई सर्वसाधारणलाई झुक्याएर करोडौं रुपैयाँ ठगी गरेको अभियोग लागेको छ । यसमा स्वास्थ्य संस्थाको सञ्चालकको समेत मिलेमतो भएको सूचना पाएपछि प्रहरीले काठमाडौंस्थित विभिन्न स्वास्थ्य संस्थामा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

ठमेलस्थित अपोलो इन्टरनेसनल पोलिक्लिनिकबाट सीआईबीले ८ जना चीनका र एक जना नेपाली नागरिक सञ्चालकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चीनका नागरिक हुआंग साँबेन, जेंग सुहवा, पैन मेइ सांग, लुओ लिमिंग, कइ सुतियन, जियांग होङ्गवइ, ली लिहोग, लिउ जिकिन र नेपाली सञ्चालक मीनाकुमारी श्रेष्ठ छिन् । यस्तै सीआईडब्लूईसी हस्पिटल, लैनचौरबाट १ जना अस्ट्रेलियन सारा एनी केम्प र १ जना नेपाली सञ्चालक प्रतिभा पाण्डेलाई पक्राउ गरेको हो ।

चाइना ग्रेट वाल हेल्थ सेन्टर, बौद्घबाट २ जना चीनका नागरिक लोङ्ग युआनचाओ, लोङ्ग गुओओंग र एक जना नेपाली सञ्चालक नारायण तिमिल्सिनालाई पक्राउ गरेको हो । बौद्घकै चाइना पिपुल्स हस्पिटलबाट दुईजना चीनका नागरिक जु जी, वाङ्ग जिनलो र बौद्घस्थित चाइनिज डेन्टल हस्पिटलबाट एक जना चीनका नागरिक ली योग मेइलाई सीआईबीले पक्राउ गरेको थियो ।