काठमाडौं-प्रदेश ७ मा भौतिक पूर्वाधार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई हम्मे परेको छ । सबै प्रक्रिया नयाँ थालनी गर्नुपर्ने भएकाले प्रदेश सभा बैठकदेखि सरकारी कार्यालयहरूको व्यवस्थापन गर्नेसम्मका काममा कर्मचारी नै अलमलमा परेका छन् ।


ADVERTISEMENT


प्रदेश सभा बस्ने जिल्ला समन्वय समितिको हलमा सत्तापक्ष र प्रतिपक्ष बस्ने छुट्टाछुट्टै व्यवस्थित ठाउँ, टेलुब, स्तरीय साउन्ड सिस्टमलगायतको राम्रो व्यवस्थापन तत्काल गर्न गाह्रो हुने प्रदेशका मुख्यसचिव लक्ष्मीराम पौडेलले बताए । उनका अनुसार हाललाई बैठक सञ्चालनका आधारभूत पूर्वाधारको व्यवस्थापन गर्ने काम भइरहेको छ ।


ADVERTISEMENT

# # #


२१ माघको दिउँसो १ बजे प्रदेश सभाको पहिलो बैठक डाकिएको छ । प्रदेश सभाकी ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले बैठकको अध्यक्षता गर्नेछिन् । प्रदेश सभामा जम्मा ५३ सदस्य रहेका छन् ।

मुख्यमन्त्रीको कार्यालयमै निवास
मुख्यमन्त्रीको कार्यालय धनगढी रातोपुलस्थित यातायात व्यवस्था कार्यालय सेतीको नवनिर्मित भवनमा राखिने भएको छ । भवनको निर्माणकार्य अझै पूर्ण रूपमा नभएकाले मुख्यमन्त्री निर्वाचित हुनुअगावै सम्पन्न गर्न ठेकेदार कम्पनीले मजदुर थप गरेको छ । मुख्य भवन निर्माण भए पनि रंगरोगन गर्नेदेखी कम्पाउण्डमा माटो सम्याउने र ब्लक विच्छ्याउने काम बाँकी नै छ ।

दश कठ्टा जमिनमा निर्माणाधिन उक्त भवनको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख रविन्द्र बोहराको भनाई छ । उक्त भवन भित्र ५ वटा वैठक हल सहित १३ बटा फराकिला कोठा रहेका छन् । भवन निर्माणको ठेक्का लिएको एम के कन्सट्रक्सनका जगतबहादुर सिहका अनुसार माघ मसान्तसम्म भवन हस्तान्तरण गरिने छ । कार्यालय रहेकै भवनमा मूख्य मन्त्रीको निवास पनि रहनेछ ।

प्रदेश प्रमुखको कार्यालय साघुरो
प्रदेश प्रमुखको कार्यालय भने साघुँरो छ । घरेलु तथा साना उद्योगको नवनिर्मीत भवनलाई प्रदेश प्रमुखको कार्यालय तोकिएको छ । सो भवनमा एक बैठक र ६ कोठा कोठा छन् । उक्त भवन निकै साघुरो भएकाले अन्य भवनको खोजि कार्य पनि जारी रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीका प्रमुख रबिन्द्र बोहराले बताए ।

यस्तो बनाइँदै छ प्रदेश सभाहल

जिल्ला समन्वय समिति कैलालीको सभाहलमा प्रदेश सभा बस्दै छ । साँघुरो सभाहललाई अहिले रंगरोगन गर्ने, ब्लक निर्माण गर्ने, भुइँमा ढलान गर्ने, कम्पाउन्ड वाल निर्माण गर्नेलगायतका काम धमाधम भइरहेका छन् । सहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीलाई पूर्वाधार व्यवस्थापनको जिम्मा दिइएको छ । बैठककक्षमा कुर्सीहरू राख्ने, सभामुख बस्ने ड्यास र कार्यकक्ष निर्माण गर्ने, भवन वरपर सरसफाइ गर्नेलगायतका काम धमाधम भइरहेका छन् ।

‘माघ २० गतेभित्र प्रदेश सभा र सचिवालय व्यवस्थापनको सम्पूर्ण काम सक्ने गरी खटिएका छौँ,’ निर्माण कम्पनीका कर्मचारी टेकराज जोशीले भने, ‘काम चाँडै सम्पन्न गराउन पहिलेको भन्दा मजदुर पनि थप गरेका छौँ ।’

बैठक सञ्चालनमा सहयोग गर्न केन्द्रीय संसद् सचिवालयको टोली आउने भनिए पनि अझै पुगेको छैन । संसद् सचिवालयको टोली आएपछि साउन्ड व्यवस्थापन लगायतका थप तयारी गरिने प्रदेश सचिव लक्ष्मीराम पौडेलले बताए । उनका अनुसार हाललाई बैठक सञ्चालनका आधारभूत पूर्वाधारको व्यवस्थापन भइरहेको छ ।

पहिलो बैठकबाट सभामुख निर्वाचनको तयारी
बैठक सहजीकरण गर्न संघीय संसद् सचिवालयले पठाएका कर्मचारी अझै धनगढी पुगेका छैनन् । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतमा दिव्येश्वरी शाहले गर्नेछिन् । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्नेछन् र प्रदेश सभामुख र उपसभामुखको निर्वाचन प्रक्रियाबारे छलफल हुनेछ ।