काठमाडौं-सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । वाणिज्यमन्त्री मीन विश्वकर्माका अनुसार यस्तो केन्द्र प्रदेश १ को धरान, २ को वीरगञ्ज, ३ को चोभार, ४ को दमौली, ५ को दाङ, ६ को सुर्खेत र ७ को महेन्द्रनगरमा हुनेछन्।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन भत्ता
मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय खेलहरुमा नेपालका लागि पदक जितेका खेलाडीलाई आजीवन भत्ता दिने पनि निर्णय गरेको छ। खेलाडीहरुलाई जीविकोपार्जन भत्ताका रुपमा मासिक ५ हजार रुपैयाँ दिइनेछ।


ADVERTISEMENT

# # #


परिवार नियोजन संघमा गिरी
सरकारले परिवार नियोजन संघको केन्द्रीय समिति भंग गरी अध्यक्षमा चक्रबहादुर गिरीलाई नियुक्त गरेको छ । संघका अन्य सदस्य भने नियुक्त गरिएका छैनन्।

सचिव सरुवा
बिहीबारको मन्त्रिपरिषद्ले पर्यटन सचिव महेश्वर न्यौपानेलाई सर्वाजनिक खरिद अनुगमन कार्यालयको सचिवमा सरुवा गरेको छ । खरिद अनुगमनका सचिव कृष्ण देवकोटालाई पर्यटनमा सरुवा गरिएको वाणिज्य मन्त्री विश्वकर्माले बताए ।

३८ जना सहिद घोषित
चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

सशस्त्र द्वन्द्वकालमा कास्की जिल्लामा तत्कालीन विद्रोही समूह नेकपा(माओवादी) बाट मारिएका कृष्णबहादुर गुरूङ, ईश्वर गुरूङ, मेखबहादुर गुरूङ, सुरत्तमसिंह गुरूङ, चन्द्रबहादुर रानाभाट, पशुपति रानाभाट, पूर्णबहादुर भुजेल र हरिप्रसाद गुरूङलाई पनि सहित घोषणा गर्ने निर्णय गरिएको छ । द्वन्द्वकालमा मारिएका सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, नेत्रबहादुर दंगाल, देवीजङ्ग पाण्डे, हिक्मतबहादुर भण्डारी, मित्रबहादुर दनुवार र छत्रबहादुर गिरी, सुनसरीका ब्रह्मदेव उराँव र छत्र खतवे तथा खोटाङका कालुमान गुरूङलाई शहीद घोषणा गर्ने निर्णय गरिएको छ ।

बैठकले पूर्वी रूकुमको सदरमुकाम उत्तरगंगा वडा नं १२ गोलगोल खाँडालाई तोक्ने र परिवार नियोजन संघको केन्द्रीय तथा शाखा कार्यसमिति विघटन गरी छत्रबहादुर गिरीका अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।