काठमाडौँ– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प नभएको बताए । पदमकन्या विद्याश्रम उच्च माध्यमिक विद्यालयको ७० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले संविधान निर्माणमा सबै दल मिलेजस्तो कार्यान्वयनमा पनि सबै दल मिल्नुपर्ने बताए ।


ADVERTISEMENT


“हिजोमात्र प्रदेशसभाका सदस्यले शपथ ग्रहण गर्नुभएको छ, उक्त समारोहसँगै मुलुक एकात्मक केन्द्रीय शासनबाट संघीयतामा प्रवेश गरेको छ, अब मुलुकलाई विकासको बाटोमा लैजानुपर्छ”– उनले भने । नेता सिंहले एकतन्त्रीय राणा शासनको समयमा महिला शिक्षाका लागि स्व।मंगलादेवी सिंहले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । सोही क्षेत्रका सांसदसमेत रहेका सिंहले सामुदायिक विद्यालयको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालय सुधारका लागि महानगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको बताए । “लामो इतिहास बोकेको विद्यालयको विकासका लागि महानगरले विशेष सहयोग गर्छ,”– उनले भने ।

सो कार्यक्रममा नेता सिंहले २५ वर्षदेखि सो विद्यालयमा सेवा गरेका कर्मचारी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । काठमाडौँको डिल्लीबजारमा अवस्थित उक्त विद्यालय विसं २००४ मा स्थापना भएको हो ।