जाजरकोट– खाद्यान्न ढुवानीको जिम्मा लिएका नायकवाडाका भक्तबहादुर बस्नेतले समयमा नै खाद्यान्न ढुवानी नगर्दा बारेकोट गाउँपालिकामा खाद्यान अभाव भएको छ ।


ADVERTISEMENT


बारेकोटमा सडक सञ्जालले नछोएका कारण खच्चडमा खाद्यान ढुवानी गर्नुपर्ने बाध्यता छ । अहिलेसम्म करिब पाँच सय क्वीन्टल खाद्यान्न बारेकोटमा पुर्याए पनि खच्चड व्यवसायीलाई ढुवानी गरेबापत ठेकेदार बस्नेतले रकम नदिँदा ढुवानीमा समस्या आएको नेपाल खाद्य संस्थान जाजरकोटका धर्मबहादुर बस्नेतले बताए ।


ADVERTISEMENT

# # #


चामल ढुवानी गर्न पटक/पटक बस्नेतलाई आग्रह गर्दा पनि उनी सम्पर्कमा नआउँदा बारेकोटमा खाद्यान्न पुर्याउन मुस्किल भएको शाखा प्रमुख बस्नेतको भनाइ छ । करिब २४ हजार जनसङ्ख्या रहेको बारेकोट गाउँपालिकामा सरकारले एक हजार क्वीन्टल मात्र चामलको कोटा स्वीकृत गरेको छ ।

सरकारी भाडाअनुसार सदरमुकामबाट एक हजार ८५१ रुपैयाँमा प्रतिक्वीन्टल चामल खच्चडमा ढुवानी गरी बारेकोटको घाटमा पुर्याएर उसिना मोटा प्रतिकिलो रु ४० रुपैयाँ र मकवानपुर प्रतिकिलो रु ३१ रुपैयाँमा बिक्री हुँदै आएको छ । बारेकोटको जनसङ्ख्या भन्दा निकै कम मात्रामा खाद्यान सरकारले पठाउदा जतिपटक चामल लिए पनि लुछाचुडी हुने गरेको घाट डिपोका कर्मचारी दीपक अर्यालले बताए ।

बजारमा पाइने निकै कम गुणस्तरको चामल पनि प्रतिकिलो ६० रुपैयाँ भन्दा तिर्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे ।
बारेकोटमा धानखेती अत्यन्तै कम हुने भएका कारण खाद्य संस्थानको चामलमा नै यहाँका बासिन्दा भर पर्ने गर्दछन् ।
चामल आयो कि आएन भनेर दैनिक सयौँ फोन आउछन् तर कति पटक छिट्टै आउछ भनेर जवाफ दिनुपर्छ आर्यालले दुखेसो पोखे।

‘चैते दसैँ मुखैमा आएको छ , ‘हाम्रो घरमा दसैँ मनाउने एक गेडा चामल छैन, डिपोमा जाऔँ चामल पाइदैन, कसरी चैते दसैँ मनाउने ?” भौगलिक रुपमा अत्यन्तै विकट रहेको यो क्षेत्र जुम्लाको सिमानासँग जोडिएको छ । सदरमुकामबाट घाटस्थित डिपोमा पुग्न दुई दिन लाग्छ । यसबारे ठेकेदार बस्नेतसँग पटक /पटक टेलिफोन गर्न खोज्दा पनि फोन नउठाएका कारण सम्पर्क हुन सकेन ।

नलसिंह गाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण गर्नका लागि सडक निर्माणकार्य जारी रहेकाले खाद्यान्न लगायतका अतिआवश्यकीय वस्तु ढुवानीमासमेत निकै समस्या भएको स्थानीय खच्चड व्यवसायी कमल खत्रीले बताए ।