काठमाडाैँ – पूर्वमाओवादी लडाकुहरूले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार सिंहदरबारमा भेटेर उनीहरूले आफ्ना समस्या सरकारले सम्बोधन नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।
सशस्त्र युद्धका घाइतेको उच्चस्तरीय औषधोपचारको व्यवस्था गर्नुपर्ने, जीवन निर्वाह गर्न तत्काल स्रोतको व्यवस्था गर्नुपर्ने, पूर्वलडाकुको कार्यदलमा नाम नभएकाको तत्काल सूचीकृत गरेर समावेश गर्नुपर्ने माग उनीहरूले श्रेष्ठसमक्ष राखेका छन् ।
पूर्वलडाकु धिरेन्द्र भण्डारीले घाइते तथा अपांगता भएका व्यक्तिका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क व्यवस्था गर्नुपर्ने, युद्धका घाइते तथा अपांगता भएका व्यक्तिको निधनपछि शहीद घोषणा गर्नुपर्ने तथा युद्धका नक्कली तथा सक्कली घाइते र अपांगता भएका व्यक्तिको पहिचान गरेर आवश्यक कारबाही गर्नुपर्ने मागसमेत पेश गरे ।
त्यस्तै, पूर्वलडाकु वीरबहादुर बुढाले चार महिनादेखि आफ्ना समस्या समाधानका लागि सिंहदरबारको ढोका चिहाइरहेको बताए । उनले आफ्नो शरीरमा देखिने घाउ नभए पनि सन्चो भने नभएको बताए ।
गृहमन्त्री श्रेष्ठले अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड विदेश भ्रमणमा रहेको र फर्किनेबित्तिकै गम्भीर रुपमा छलफल गरेर समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।