काठमाडौँ – आजदेखि सुरु भएको एशिया कप क्रिकेटको पहिलो खेलमा नेपाल सहआयोजक राष्ट्र पाकिस्तानसँग २३८ रनले पराजित भएको छ । पाकिस्तानी तीव्र गतिका बलर चम्किएपछि नेपालले एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो हार व्यहोरेको हो ।
पाकिस्तानको मुल्तानस्थित मुल्तान अन्तर्राष्ट्रिय मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल २३.४ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनमै अलआउट भएको हो ।
पाकिस्तानका बलरसामू नेपाली ब्याटर निरीह देखिए । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाउन बनाए भने आरिफ शेखले २६ तथा गुल्शन झाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालले पहिलो ओभरमै १० रन बनाउँदा महत्वपूर्ण २ विकेट गुमायो । त्यसक्रममा कुशल भुर्तेल ८ र कप्तान रोहित पौडेल शून्य रनमा आउट भए । यस्तै थप ४ रन जोड्दा आशिफ शेख तेस्रो विकेटका रुपमा आउट भए ।
चौथो विकेटका लागि आरिफ शेख र सोमपाल कामीले ७८ बलमा ५९ रनको साझेदारी गरे । चौथो विकेटका लागि आरिफ शेख र सोमपाल कामीले ७८ बलमा ५९ रनको साझेदारी गरे । तर, थप २२ रन बनाउँदा नेपालले अरु ५ विकेट गुमायो ।
नेपाललाई सस्तैमा समेट्नेक्रममा पाकिस्तानका सदाव खानले ४ विकेट लिए । ६.४ ओभर बलिङ गरेको उनले २७ रनमात्रै खर्चिए । यस्तै शाहिन शाअ अफ्रिदीले ५ ओभरमा २७ रन दिएर २ तथा ह्यारिस रउफले ५ ओभरमा १ मेडेन राख्दै १६ रन मात्रै दिएर २ विकेट चट्काए । यस्तै नसीम शाह र मोहम्मद नवाजका नाममा १–१ विकेट रह्यो ।
यसअघि पाकिस्तानलाई विशाल योगफलतर्फ पुर्याउनेक्रममा कप्तान बाबर आजमले १५१ रनको सानदार इनिङ खेले । उनले १३१ बलमा १४ चौका र ४ छक्काको ठोके ।
यस्तै छैटौँ नम्बरमा आएर विष्फोटक ब्याटिङ गर्दै इफ्तिखारले एकदिवसीय क्रिकेटमा पहिलो शतक बनाए । ६७ बलमै शतक हानेका उनले कूल ७१ बलमा ११ चौका ४ छक्काको मदतमा नटआउट १०९ रन बनाए । त्यसक्रममा उनले विष्फोटक ब्याटिङ गर्दै बाबरसँग मिलेर पाँचौँ विकेटका लागि १३१ बलमा २१४ रनको साझेदारी गरे । यस्तै मोहम्मद रिजवानले ५६ बलमा ६ चौकाको मदतमा ४४ रन बनाए । यस्तै फाखर जमानले १४ तथा इमाम उल हक र अघा सलमानले समान ५–५ रन बनाए । सदाब खान
पाकिस्तानी ब्याटरसामू नेपाली बलर निरीह साबित भए । नेपालका लागि सोममपाल कामीले २ विकेट लिए । उनले १० ओभरमा १ मेडेन राख्दै ८५ रन खाए । यस्तै करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए । सोक्रममा करणले ९ ओभरमा ५४ रन दिए भने सन्दीपले ६९ रन खर्चिए ।
यस्तै ललित राजवंशीले १० ओभरमा ४८ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् । नेपालले दुई विकेट सानदार रुपमा रन आउट गर्दै लिएको थियो ।
गत वैशाखमा काठमाडौँमा भएको एसीसी प्रिमियर कपको विजेताका रुपमा पहिलो पटक एशिया कप खेलेको नेपालले पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग पनि पहिलो पटक नै खेलेको हो । एशिया कपमा नेपालले अब अन्तिम खेल भारतसँग सेप्टेम्बर ४ (भदौ १८ गते) श्रीलङ्काको कोलम्बोमा खेल्नेछ ।
६ राष्ट्र सम्मिलित एशिया कप आजदेखि पाकिस्तान र श्रीलङ्कामा हुँदैछ । जसका लागि ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा पाकिस्तान, भारत र नेपाल रहेका छन् । यस्तै समूह ‘बी’मा श्रीलङ्का, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
राजनीतिक द्वन्द्वका कारण भारतले पाकिस्तान जान नमानेपछि प्रतियोगिता हाइब्रिड मोडलमा हुँदैछ । पाकिस्तानले समूह चरणको दोस्रो खेल भारतसँग २ सेप्टेम्बरमा श्रीलङ्कामा खेल्नेछ ।