काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त भएर समीक्षा गर्नको लागि तत्काल केन्द्रीय कार्य समितिको बैठक बस्ने बताएका छन् ।


ADVERTISEMENT


उनले भने, “केन्द्रीय कार्यसमिति बैठक चाँडै बस्छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौं, प्रवक्ताको हैसियतमा म फेरि भन्छु, केन्द्रीय कार्यसमिति बैठक बस्छ, कार्यसमितिको बैठकपछि महासमिति हुँदै विशेष महाविधेशनसम्म जान सकिन्छ ।”


ADVERTISEMENT

# # #


आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रवक्ता शर्माले पार्टी पराजयको बारेमा गम्भीर समीक्षा गर्नुपर्ने र पार्टीलाई पुनर्जिवन दिलाउनको लागि अब बस्ने कार्य समितिको बैठकले ठोस निर्णय लिने पनि विश्वास दिलाए ।

उनले कांग्रेस अब रुपान्तरण हुने स्पष्ट पारे । शर्माले थपे, “हामी बदलिन्छौं, आवेगमुक्त भएर समीक्षा गर्छौं, किनकी कांग्रेसले पहिलोपटक हार व्यहोरेको होईन, त्यसैले बिरामीलाई पहिले अस्पताल पुर्याउनुपर्छ, अनिमात्रै सही डाईगनोशिस हुन्छ, अस्पताल नै नलगेर घरमै राखेर मेडिसिन दिन थालियो भने सही डाईग्नोशिस हुन सक्दैन ।”

पार्टी प्रवक्ता भएपनि ७ भाईवीच फाटो आउँदैन त भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने, “७० वर्ष कटेका पार्टी नेता राजनीतिबाट रिटायर्ड हुनुपर्छ र त्यो नै अहिलेको सन्दर्भमा बेस्ट मेडिसिन हो भन्ने केही साथीहरुलाई लाग्यो, मैले त्यसैबेला राजनीतिलाई एज (उमेर) ले होइन एजेण्डाले ड्राइभ गर्छ भनेको थिएँ । त्यसैले ७० कटेकाले छाड्नुपर्छ, यति कटेकाले बस्नुपर्छ भन्ने भन्दा पनि एजेण्डाले ड्राईभ गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।”

उनले आफूहरु ७ जनाले हस्ताक्षर गरेर विज्ञप्ती जारी गर्दैगर्दाको प्रसँग उल्लेख गर्दै त्यतिवेला कुनै क्लब गठन गर्नको लागि हस्ताक्षर नगरिएको स्पष्ट पारे ।

उनले अघि थपे,‘‘सातजनाको विज्ञप्तिमा त्यो पनि छैन । सातजनाको विज्ञप्तिमा जे छ त्यसको स्पिरिटप्रति म अहिलेपनि प्रतिवद्ध छु । त्यो भनेको केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्छ, गम्भीर आत्मसमीक्षा गर्नुपर्छ, महासमितिको बैठकमार्फत त्यसलाई कार्यान्वयन गर्ने प्रकृयामा जानुपर्छ ।’’

एमाले–माओवादी केन्द्रबीचको वाम गठबन्धन भत्काउन प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव नगरिएको उनले जिकिर गरे । उनले थपे, “सडकमा कसले कुन सन्दर्भमा के बोल्नुभयो भन्ने कुराको जवाफ मैले कांग्रेस प्रवक्ताका रुपमा दिनु उचित हुँदैन । नेपाली कांग्रेस जनताले दिएको म्याण्डेट बमोजिम प्रतिपक्षमा बस्नेतर्फ नै गम्भीरतापूर्वक लाग्छ ।”

उनले आधिकारिक रुपमा कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भनेर कुनै निर्णय नगरेको पनि स्पष्ट पारे । उनले एमाले–माओवादीवीच एकता होस् भन्ने पक्षमा नै रहेको सुनाए ।

“हामी शुभकामना दिन्छौं, उहाँहरुवीच एकता होस्,”–उनले भने । सरकारले चाँडै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने उनले विश्वास दिलाए ।