काठमाडौं-बायर्न म्युनिखले शुक्रबार बायर लेभरकुसेनमाथि ३–१ को सहज जित निकाल्दै जर्मन बुन्डेसलिगामा आफ्नो शीर्षता थप बलियो पारेको छ । ३२औं मिनेटमा हाभियर मार्टिनेजले गरेको गोलमा बायर्नले अग्रता लिएको थियो । ५९औं मिनेटमा फ्रयाङ्क रिबेरीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए । रिबेरीले हामेस रोडरिग्वेजको पासलाई पोस्टको दिशा दिएका थिए ।


ADVERTISEMENT


खेल सकिन २० मिनेट बाँकी हुँदा केभिन भोल्यान्डले गोल गर्र्दै लेभरकुसनेलाई खेलमा फर्काउने प्रयास गरे । तर इन्जुरी समयको पहिलो मिनेटमा रोडरिग्वेजले फ्रि–किकमा गोल गर्दैै बायर्नका लागि ३ अंक पक्का गरेका थिए । बायर्नले लेभरकुसनको घरेलु मैदान बे एरिनामा सन् २०१३ पछि हात पारेको यो पहिलो जित हो।


ADVERTISEMENT

# # #


रिबेरी र अर्का भेट्रान विंगर आर्येन रोबेनको बायर्नसँगको सम्झौता आगामी जुनमा सकिँदै छ। क्लबले दुवै जनालाई यसै हप्ता सम्झौता लम्ब्याउन प्रस्ताव गर्ने बताइएको छ। ‘म बायर्नमा बस्दासम्म क्लबबाट धेरैभन्दा धेरै गोल गर्न चाहन्छु,’ फ्रान्सका रिबेरीले भने, ‘लेभरकुसेन उत्कृष्ट टोली हो र उनीहरूविरुद्धको खेल सधैं कठिन हुने गर्दछ।’

यस जितपछि १८ खेलको समाप्तिमा ४४ अंक जोडेको बायर्न बुन्डेसलिगाको शीर्ष स्थानमा यथावत् छ। जुन एक खेल कम खेलेको दोस्रो स्थानको साल्केभन्दा १४ अंक बढी हो । २८ अंक जोडेको लेभरकुसेन चौथो स्थानमा छ।