काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचन तयारीबारे आज निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् ।


ADVERTISEMENT


बालुवाटारस्थित आफ्नै निवासमा उनले प्रमुख निर्वाचन आयुक्तसहित पाँचैजना आयुक्तसँग निर्वाचनको तयारी र सरकारले गर्नुपर्ने दायित्वबारे छलफल गरेका हुन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले अहिलेसम्म गरेका तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सञ्चारकर्मीलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


“आयोगको यो नियमित भेटघाट हो, निर्वाचन सम्बन्धी अयोगले अहिलेसम्म गरेको तयारीबारे छलफल भयो,” उनले भने– “निर्धारित मितिमै निर्वाचन गराउन आयोग प्रतिबद्ध छ, आयोगको कामप्रति प्रधानमन्त्रीले धन्यवाद पनि दिनुभयो ।”प्रमुख निर्वाचन आयुक्त डा यादवले राजनीतिक वातावरण बनाईदिन आयोगले गरेको आग्रहमा प्रधानमन्त्रीले राजनीतिक सहमतिको वातावरण बनाउन दिनरात लागि परेका छौँ, सहमतिको अनुकूल वातावरण बन्नेमा विश्वास दिलाउनुभएको छ भने।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकार तयार रहेको बताउँदै यसका लागि सरकारले सुरक्षा कार्ययोजना तयार गरिसकेकाले निर्धक्क भएर निर्वाचनमा होमिन आयोगलाई आग्रह गरे ।
तराई–मधेसमा निर्वाचनको वातावरण बनाउन राजनीतिक सहमतिको अन्तिम प्रयास भइरहेको र त्यो छिटै नै सहमतिको बिन्दुमा पुगिने विश्वास प्रधानमन्त्रीले दिलाएको प्रमुख निर्वाचन आयुक्त डा यादवले बताए।

साना राजनीतिक दलले निर्वाचन चिह्न नपाएको गुनासो गरिरहेको छ नी भनी सोधेको जिज्ञासामा आयुक्त यादवले भने, “आयोगले संविधान र कानुनको आधारमा निर्वाचन चिन्ह प्रदान गरेको छ, केही दलले कानुनको कारणले निर्वाचन चिह्न प्राप्त गर्न नसकेको हो, त्यसका लागि अहिले केही गर्न सक्दिैन् किनभने आयोगले ५१ जिल्लाको मतपत्र छापिसकेको छ, मतदाता नामावलीको सूची पनि तयार भइसकेको छ ।”

निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली र मतदान केन्द्रलगायत सबै तयारी भइसकेको तथा वैशाख ३१ को निर्वाचन सम्पन्न गराउन सरकारका तर्फबाट पनि पूर्ण सुरक्षाको प्रत्याभूति आएको आइसकेको छ उनले भने ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनाली सहभागी थिए ।