-खिमलाल भट्टराई


ADVERTISEMENT


पुनश्चः जबजको सान्दर्भिकताका विषयमा प्रश्न उठाईएको छ । यथार्थमा नेपालको राजनीतिक तथ्यले यसको सान्दर्भिकता झनै बढेको देखाईरहेको छ । तथापि जबजको च्याप्टर क्लोज भयो । यसले जे गर्नु थियो गरिनै सक्यो । यसको माध्यमबाट जे आउनु थियो आई नै सक्यो । नेपाली क्रान्तिको बाँकी कार्यभारलाई अब यसले मार्गदर्शन गर्न सक्दैन । यस्ता विचारहरु विभिन्न वखतहरुमा वहसमा आउने गरेका छन् । र आवश्यक छलफलपछि टुँगो लाग्ने गरेको छ ।


ADVERTISEMENT

# # #


यद्यपि यो विषय नेकपा एमालेको नवौं महाधिवेशनबाट टुँगो लागि सकेको हो । एमाले पंक्ति भित्रैबाट यति नै बेला यस विषयमा टिका टिप्पणी हुनु आश्चर्य भएको छ । यसो नगरिनु पथ्र्यो । मलाई लाग्दछ देश, काल र परिस्थितीले यस विषयमा कम्तीमा पनि एमालेपंक्ति भित्रैबाट विरोध हुन अनुमति दिंदैनथ्यो । बरु यसका पक्षमा जोडदार पैरवी हुनुपथ्र्यो । आखिर कुरा उठी त हाल्यो, आउनुहोस् यस विषयमा मन्थन गरौं ।

हामीलाई ज्ञात छ कि जनताको बहुदलीय जनवाद कम्युनिष्ट आन्दोलनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको सार हो । नेपाली सन्दर्भको मार्क्सवाद हो । र नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त हो । व्यवहारकोक्रममा नवीन मान्यताको रुपमा स्थापित भएर फेरि व्यवहारमा जाँदैगर्दा सही सावित भएको सिद्धान्त हो जनताको बहुदलीय जनवाद ।

जडसुत्रवादको विरोध र मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने सिलसिलामा स्थापित भएको जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनभित्र केही नवीन मान्यताहरु स्थापित गरेको छ ।

सोभियत संघ र पुर्वी युरोपबाट कम्युनिष्ट सत्ता ढल्दै गर्दा विश्व कम्युनिष्ट आन्दोलनमा गंभीर संकट पैदा भएको थियो । त्यसबेला विभिन्न देशका कम्युनिष्ट आन्दोलनहरुमा गंभीर प्रकृतिका विचलनहरु देखा परे । कतिले नाम, कतिले झण्डा, कतिले कार्यक्रम नै बदले । पुँजिवाद पन्थीहरुले मार्क्सवादको औचित्य समाप्त भएको उद्घोष गरे । उनीहरुले मार्क्सवादको मृत्युको जलेसा मनाए ।

ठीक त्यसै बेला समाजमा जबसम्म वर्गीय शोषण, अन्याय र अत्याचार रहन्छ तबसम्म मार्क्सवादको औचित्य समाप्त हुँदैन र यो रहिरहन्छ भन्ने सच्चाईलाई बुलन्द गर्दै, कम्युनिष्ट आन्दोलनको परिवर्तित सन्दर्भका नवीनतम् अनुभवहरुको जगमा जननेता मदन भण्डारीको अगुवाईमा जनताको बहुदलीय जनवाद स्थापित भएको हो । जडसुत्रवादको विरोध र मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने सिलसिलामा स्थापित भएको जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनभित्र केही नवीन मान्यताहरु स्थापित गरेको छ । जसलाई यसरी उल्लेख गर्न सकिन्छ । र जुन मान्यताहरु युगीन छन् ।

पहिलो : संघर्षको सशस्त्र रुपलाई एकमात्र परिवर्तनको आधार मान्ने कम्युनिष्ट आन्दोलनको परम्परागत मान्यतामाथि यसले प्रहार गर्‍यो । संघर्षको रुप निरपेक्ष कुरा होईन, यो परिस्थिती सापेक्ष हुन्छ । सशस्त्र वा शान्तिपुर्ण भन्ने कुरा तत्कालीन परिस्थितीले निर्धारण गर्छ । यो बनिवनाउ हुन सक्दैन । र अहिले संघषको शान्तिपुर्ण रुप नै प्रधान हो भनेर किटानी गर्‍यो । यसले संघर्षको रुपको मामिलामा कम्युनिष्ट आन्दोलन भित्र रहेको जडसुत्रवादी चिन्तनलाई बदलिदियो । र शान्तिपुर्ण संघर्षबाट पनि परिवर्तन संभव छ भन्ने कुरालाई स्थापित गरिदियो ।

दोश्रो : कम्युनिष्टहरुले क्रान्तिपूर्व सरकार बनाउने कुरालाई गैर-क्रान्तिकारी ठान्ने प्रवृति थियो । प्रतिकृयावादी दलदलमा फसेको ठान्ने सोंचहरु थिए । जनताको बहुदलीय जनवादले यस सोंचमाथि गम्भीर प्रहार गर्‍यो । र क्रान्तिपुर्व पनि सरकारमा जान सकिन्छ र जनहीतका कार्य र सेवाको माध्यमबाट क्रान्तिकारी शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गरिदियो ।

तेस्रो : कम्युनिष्ट आन्दोलनले आफुले स्थापित गर्ने व्यवस्थालाई जनवादी अधिनायकत्व र यसरी नै सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्ने व्यवस्था भन्दै आएको थियो । र राज्यको चरित्रका संबन्धमा नियन्त्रणको पाटोलाई मात्रै उजागर गर्दै आएको थियो । जवजले यस मान्यतामा प्रहार गर्दै अधिनायकत्वको स्थानमा राज्यसत्ताको प्रयोग हुनुपर्ने मान्यतालाई स्थापित गरिदियो । अर्थात राज्यको चरित्रसम्बन्धी पुरानो मान्यतालाई बदलिदियो । जनवादी राज्यले दमन र नियन्त्रण मात्रै गर्दैन, जनताको हीत र कल्याणको कार्य पनि गर्दछ भन्ने सच्चाई उद्घाटित गरिदियो ।

चौथो : आफ्नो विकास क्रममा मानव जातिले आर्जन गरेका उपलब्धीहरुलाई कम्युनिष्ट आन्दोलनले पुजिवादको उपज ठान्ने र दुत्कार्ने चलन थियो । संविधानको सर्वोच्चता, कानुुनको शासन , बहुलवाद, प्रतिष्पर्धात्मक बहुदलीय शासन प्रणाली, बहुमतको सत्तापक्ष र अल्पमतको प्रतिपक्षको मान्यता, शक्ति पृथकीकरणको सिद्धान्त, जनताको जनवादी व्यवस्था, मानवअधिकार आदि जस्ता मानव जातिले आफुलाई व्यवस्थित गर्ने सिलसिलामा उत्पादन गरेका मान्यताहरुलाई जबजले आफुभित्र समाहित गरेर कम्युनिष्ट आन्दोलन भित्र नयाँ विचारको विजारोपण गर्‍यो । र कम्युनिष्ट व्यवस्था एकदलीय तानाशाही होईन, बहुदलीय प्रतिस्पर्धामा आधारित व्यवस्था हुन सक्दछ भन्ने सुस्पष्ट विचार अगाडि सार्‍यो । जबसम्म समाजमा वर्ग रहन्छन् तवसम्म वर्गीय विचार रहनु स्वभाविक हुन्छ । विचार रहेसम्म प्रतिष्पर्धाको स्थिती हुनु वस्तुगत कुरा हो । कम्युनिष्टहरुले आफुलाई प्रतिष्र्धामा नै श्रेष्ठ तुल्याउनुपर्दछ ।

पाँचौ : क्रान्तिपछि स्थापित हुने व्यवस्था कसरी संचालन गर्ने भन्ने सवालमा जबजले बडो राम्रोसँग मार्ग निर्देशन गरेको छ । दुनियाँका विभिन्न कम्युनिष्ट देशहरुमा आधार तयार नहुँदै मनोगत आग्रहका आधारमा वा कसैलाई उछिन्ने वा भेट्टाउने नाममा अगाडिको कार्यक्रम दिँदा फेरि पछाडि फर्किनु परेका प्रशस्त उदाहरणहरु छन् । चीनमै पनि यस्तो भयो । समाजवादमा फड्को मार्ने हतारोले संचालन गरिएको सांस्कृतिक क्रान्ति एउटा यस्तै उदाहरण हो । जसको बारेमा पछि गएर गलत भएको समीक्षा स्वयं चिनिया कम्युनिष्ट पार्टीले गरेको छ । सोभियत संघमा पनि यस्तो भयो । यी घटनाहरुबाट शिक्षा लिएर नेपालमा स्थापित हुने जनवादी व्यवस्थाले हतारो नगरी प्रयाप्त तयारीको साथमा अगाडि बढ्नुपर्दछ भन्ने मान्यतालाई अगाडि सार्‍यो ताकि अगाडि बढेपछि पछाडि फर्किनु नपरोस् ।

हामीले आजको दिनमा यो पक्षमा गम्भीररुपमा ध्यान पुर्‍याउन जरुरी छ । ६२/६३ मा सम्पन्न शान्तिपुर्ण जनक्रान्तिबाट प्राप्त उपलब्धीहरु नयाँ संविधानको निर्माण र कार्यान्वयनको माध्यमबाट संस्थागत भएका छन् । मुलुकमा सम्पन्न स्थानीय, प्रदेश र केन्द्रीय तहका चुनावबाट मुलुकको वाम शक्ति पहिलो शक्तिकोरुपमा स्थापित भएको छ । र सिङ्गो मुलुकलाई नेतृत्व गर्ने अभिभारा कम्युनिष्ट शक्तिको काँधमा आएको छ । नेपाली कम्युनिष्ट आन्दोलनको लागि यो असाध्यै मुल्यवान अवसर हो । यतिबेला हामी चुक्नु हुँदैन । नेपाल राष्ट्रको उन्नति प्रगति र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी हाम्रो काँधमा छ ।

यस अवस्थामा जनताको बहुदलीय जनवादले हामीलाई स्पष्टरुपमा तीन चरणमा कामलाई विभाजन गरेर अगाडि बढ्न मार्ग निर्देशन गरेको छ ।

१) पहिलो चरणमा पुरानो व्यवस्थाका अवशेष अर्थात सामन्तवादका सम्पुर्ण अवशेषहरुको अन्त्य गर्न पहलकदमी लिने ।

२) दोश्रो चरणमा जनवादी व्यवस्थाको सुृदृढीकरण गर्न लाग्ने ।

३) तेश्रो चरणमा समाजवादमा फड्को मार्नको निम्ति सम्पुर्ण तयारी गर्ने ।

यसरी जबजले यतिबेला हामीलाई अगाडि बढ्नको निम्ति स्पष्ट बाटो देखाएको छ । के अब हामी यो भन्दा पृथक ढँगले चल्छौं त ? चल्दैंनौ । कथंकदाचित चलिहाल्यौं भने ठीक गन्तव्यमा पुग्न सक्दैनौ । मेरो विचारमा हामी हिड्ने बाटो यही नै हो ।

हामीले पार्टी एकता गर्नैपर्ने हुन्छ । यसबाट हामी कोही पनि उम्किन सक्दैनौं । जो यसबाट अलग हुन्छ, ऊ जनताबाट तिरस्कृत हुने निश्चित छ ।

छैठौं : समाजवाद हाम्रो मुलुकको अवको गन्तव्य हो । हामी आफैले बनाएको संविधानले तय गरेको गन्तव्यमा पुग्नुछ । यसो गर्दैगर्दा हामीले कस्तो अर्थतन्त्र अवलम्बन गर्छौ त ? यस बारेमा पनि हामीलाई जबजले मार्ग दर्शन गर्छ कि जनवादी व्यवस्थामा हामीले अवलम्वन गर्ने अर्थतन्त्र मिश्रित अर्थतन्त्र नै हो । तीन खम्बे अर्थनीति । सहकारी, सरकारी र नीजि । तिनवटै क्षेत्रलाई परिचालन गरेर हामी बलियो राष्टिय अर्थतन्त्रको विकास गर्छौ । जवजले हामीलाई यसै गर्न मार्गनिर्देश गरेको छ । के योभन्दा फरक हामी केही गर्छौ र ?

सातौं : यसरी नै हाम्रो आन्तरिक वित्तीय स्रोत हामी हिड्ने समृद्धिको यात्राको लागि अपुग हुन्छ । विकासका लागि आवश्यक प्रयाप्त प्रविधि हामीसँग छैन । हामीलाई विदेशी पूँजि र प्रविधिको आवश्यकता पर्दछ । त्यसबेला हामी के गर्छौ ? यसमा पनि हामीलाई जनताको बहुदलीय जनवादले मार्ग निर्देश गरेको छ । राष्ट्र र जनताको हीत प्रतिकुल नहुने गरी विदेशी पुँजि र प्रविधि भित्र्याउने कुरामा जवज खुल्ला छ । संसारसँग बेखवर भएर जनताको जनवादी व्यवस्था बस्दैन । राष्ट्र र जनताको हीतका प्रश्नमा संसारसँग सम्बन्ध स्थापित गरेर अगाडि बढ्नुपर्ने कुरामा जबजले हामीलाई बाटो देखाएकै छ ।

आठौं : माथि उल्लेखित कुराहरुको अलावा मुलुकको समग्र विकासको निम्ति गर्नुपर्ने कृषि, पर्यटन, जलस्रोतको विकास, उद्योग कलकारखानाको स्थापना, शिक्षा र स्वास्थ्यको क्षेत्र, सुरक्षा र प्रशासनको क्षेत्र, न्याय र मानव अधिकारको क्षेत्र, परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा कसरी अगाडि बढ्नुपर्दछ भन्ने बारेमा समेत जबजले हामीलाई पथप्रदर्शन गरिराखेको छ । यति भएपछि के हामी बाटो हराएका बटुवा जस्ता छौ त ? होईन किमार्थ होईन । हामी स्पष्ट गन्तव्य सहितको फराकिलो राजमार्गमा छौं । हिड्नको निम्ति बाटो नभएर नयाँ बाटो खन्नुपर्ने छैन ।

नवौं : हामी गत प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका क्रममा नेकपा (एमाले) र नेकपा –माओवादी केन्द्रकाबीच वाम गठबन्धन बनाएर चुनाव लड्यौं । चुनावमा जाँदैगर्दा हामीले यो चुनावी तालमेल मात्रै होईन यो दुई पार्टीबीचको एकताको जगमा बनेको गठबन्धन हो । पार्टी एकता हुन्छ । देशलाई विकासको बाटोमा हिंडाउँछौ, स्थायित्व दिन्छौं भनेका छौं र जनतालाई आश्वस्त पारेका छौं । यसको तात्पर्य हामीले पार्टी एकता गर्नैपर्ने हुन्छ । यसबाट हामी कोही पनि उम्किन सक्दैनौं । जो यसबाट अलग हुन्छ, ऊ जनताबाट तिरस्कृत हुने निश्चित छ ।

यसको निम्ति पार्टी वा व्यक्ति कसैले पनि ईगो साध्ने काम गर्नुहुँदैन । हामी बलियो र ठूलो हुनको लागि एकता गर्ने हो । हामी सबै सम्मानित र विजयी हुने हो । कोही पनि अपमानित र पराजित हुने होईन । यस किसिमको वातावरण तब पैदा हुन्छ, जब एकतापछि यो पार्टी ठुलो र बलियो बन्छ । हामीले यस्तो वातावरण बनाऔं, ताकि एकतापछि हामीमा शक्ति पैदा होस् । सच्चाई के हो भने सही नीति र स्थापित नेतृत्वलाई विस्थापित गरेर हामीले बलियो पार्टी बनाउन सकिन्न । मिलाउने नाममा सत्य र तथ्यबाट अलगअलग नबनौं । मनोगत होईन वस्तुवादी भएर अगाडि बढौं । यसमै राष्ट, जनता र हामी सबैको कल्याण छ । राष्ट्रलाई अगुवाई गर्न सक्ने शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणमा हामी सबैले योगदान गरौं ।