काठमाडौं-माओवादी अध्यक्ष प्रचण्ड चितवनबाट आउन ढिला भएका कारण नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संंयोजन समिति बैठक आज बस्न नसक्ने भएको छ । पार्टी एकताको प्रक्रिया अघि बढाउन संयोजन समिति बैठक आइतवार बस्ने भनिएको थियो ।


ADVERTISEMENT


मौसमका कारण प्रचण्ड शनिवारै काठमाडौं आउने भनिए पनि आउन नसकेका कारण बैठक बस्ने सम्भावना टरेको संयोजन समिति सदस्यसमेत रहेका एमाले महासचिव ईश्वर पोखरेलले बताए । पोखरेलले केपी ओली र प्रचण्डबीच छलफल भएपछि अरु प्रक्रिया अघि बढ्ने बताए ।


ADVERTISEMENT

# # #


पार्टी एकता संयोजन समितिमा अध्यक्ष ओली र प्रचण्डसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल एमालेबाट छन् । माओवादीबाट नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादल छन् । यसलाई पार्टी एकतापूर्वको वामपन्थी गठबन्धनको हाइकमाण्ड भनिएको छ ।

एमाले महासचिव पोखरेलले संयोजन समिति बैठक बसेपछि पार्टी एकताको लागि मुख्यतः तीन विषयमा कार्यदल बनाएरै प्रक्रिया अघि बढ्ने बताए । उनका अनुसार पार्टीको नीति र सिद्धान्त के हुने भन्नेबारेमा दुवै पार्टीका नेता सम्मिलित कार्यदल बन्नेछ ।

त्यस्तै पार्टीको संगठनात्मक ढाँचा र एकताको बारेमा गृहकार्य गर्न अर्को कार्यदल बन्नेछ । दुवै पार्टीका संगठन र भातृ संस्थाहरुको एकता कसरी गर्ने भन्ने मोडालिटी तय गरिनेछ । यसअघि चुनावी सिट बाँडफाँडको बेला तय गरिएको मोडालिटी अनुसार संगठनात्मक एकता गर्न सकिने स्रोतले जनाएको छ ।

त्यस्तै संयोजन समितिले गर्नुपर्ने तेस्रो निर्णय भावी पार्टी नेतृत्वको विषयमा रहेको पोखरेलले बताए । मूल नेतृत्व कस्तो बनाउने र कसले नेतृत्व गर्ने भन्ने टुंगो पनि संयोजन समितिले लगाउनेछ । महाधिवेशनअघिको पार्टी नेतृत्वको सन्दर्भमा संयोजन समितिमै छलफल हुने पोखरेलले बताए ।

संयोजन समितिले वामपन्थी गठबन्धनको अब बन्ने सरकारको नीति कार्यक्रमको बारेमा पनि छलफल गर्नेछ ।