काठमाडौं-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दर्जनौं कर्मचारीले अध्ययन-अवलोकनका नाममा विभिन्न देश उड्ने तयारी गरेका छन् । प्रधानमन्त्री कार्यालयका खरिदार, सुब्बादेखि सचिवसम्मका कर्मचारी संघीयताको अध्ययन गर्न भन्दै विदेश उड्ने तरखरमा छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्यालयले वैदेशिक अध्ययन, भ्रमण, अवलोकन शीर्षकमा विनियोजन गरेको दुई करोड १० लाख रुपैयाँ सक्न दर्जनभन्दा बढी कर्मचारीले एकपछि अर्को गर्दै विभिन्न देश उड्ने तयारी गरेका हुन् ।


ADVERTISEMENT

# # #


विदेश जाने कर्मचारीको सूची
प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखाका अधिकारीले अन्य महाशाखाको समन्वयमा विदेश जाने कर्मचारीको सूची बनाइरहेका छन् । पदीय रूपमा को-को जाने तय भए पनि नाम टुंगो लाग्न बाँकी रहेको कार्यालयले जनाएको छ । यद्यपि, भ्रमणमा जान छुट्टाछुट्टै सचिवको नेतृत्वमा कम्तीमा पनि सात वटा टोली बनाइएको छ । सात टोलीमध्ये ६ वटाको नेतृत्व छुट्टाछुट्टै सचिवले गर्ने र एउटा टोलीको नेतृत्व सहसचिवले गर्नेगरी सूचीलाई अन्तिम रूप दिने काम भइरहेको स्रोतले जानकारी दिएको छ ।

भ्रमण तालिका
पुस अन्तिम साता वा माघ पहिलो सातादेखि कर्मचारीको भ्रमण सुरु हुने र वैशाखसम्म यो क्रम जारी रहने गरी भ्रमण तालिका बनाइएको छ। प्रधानमन्त्री कार्यालयमा झन्डै दुई सय कर्मचारी कार्यरत छन् । तीमध्ये सात वटा टोलीमा कम्तीमा ७० कर्मचारी पर्नेछन् ।

कहाँ कहाँ हुन्छ भ्रमण ?
प्रधानमन्त्री कार्यालयका अनुसार सचिवको नेतृत्वमा रहने छुट्टाछुट्टै टोलीले क्रमशः थाइल्यान्ड, कम्बोडिया, मलेसिया, सिंगापुर, इन्डोनेसिया, श्रीलंका, माल्दिभ्स, कोरिया, चीन, फिलिपिन्स, भियतनाम, लाओसलगायत देशको भ्रमण गर्नेछ । सबै टोली एकैपटक नभएर फरक-फरक समयमा विदेश जाने गरी तालिका बनाइएको छ ।

दैनिक भत्ता
सात दिनमा विदेश भ्रमणमा रहने सचिवले दैनिक भत्ताबापत एक लाख ६५ हजार तीन सय ७५ रुपैयाँ पाउने छन् । त्यस्तै, सहसचिव र उपसचिवले समान एक लाख २८ हजार ६ सय २५ रुपैयाँ पाउने छन् भने शाखा अधिकृतले एक लाख १० हजार दुई सय ५० रुपैयाँ पाउने छन् भने खरिदार तथा सुब्बाले ९१ हजार आठ सय ७५ रुपैयाँ पाउने छन् । उनीहरूले विदेश रहँदा प्रतिदिन यातायात खर्चबापत सय डलर पाउने छन् । प्रतिटोलीलाई उपहारका नाममा १०-१० हजार रकम विनियोजन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।-आजको अन्नपूर्ण पोस्टबाट