काठमाडौँ– पञ्चायत पृष्ठभूमिका विभाजित पार्टीहरुलाई एकीकृत वा नाम परिवर्तन गरी नयाँ पार्टी स्थापना गर्न तीन वटै राप्रपाका नेताबीच विमर्श शुरु भएको छ ।


ADVERTISEMENT


हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेपछि दोस्रो तहका नेताले नेतृत्व र नीतिको विकल्प खोजेका हुन् ।


ADVERTISEMENT

# # #


हाल कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा (राष्ट्रवादी) तीन दलमा विभाजित भएका कारण निर्वाचनमा हार व्यहोर्नुपरेको महसुस नेताहरुले गरेका छन् ।

पार्टीका नेताले विचार र अलग पहिचान भएको राष्ट्रवादी प्रजातान्त्रिक दल निर्माणका लागि विभिन्न विकल्पमा छलफल शुरु गरेको राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारीले जानकारी दिए । उनले भने, “तीन वटा राप्रपा तथा अन्य राष्ट्रवादी दललाई एकताबद्ध गरेर जानुको विकल्प छैन ।”

सो पार्टीको बुधबारदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकले संगठनको सुदृढीकरणका साथै विभिन्न विषयमा छलफल गर्दै एकताका लागि आह्वान गर्ने भएको छ ।

विभिन्न स्वार्थले जुट्ने र आन्तरिक द्वन्द्वका कारण वैचारिक असहमति जनाएर फुट्ने गर्दै आएका दलका युवा पुस्ता तथा दोस्रो तहका नेताले राष्ट्रियता, स्थायित्व र समृद्धिलाई आधार बनाएका छन् ।

तीन वटै दलले घोषित नीतिमा ‘संवैधानिक राजतन्त्र र हिन्दू राज्य’ को विषयलाई उठाए पनि त्यसको कार्यान्वयनमा इमान्दारिता नदेखाएका कारण चुनावमा जनताले यी दललाई विश्वास नगरेको राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री राजाराम श्रेष्ठले
बताए।

तीन पार्टीमा एकता भई एकीकृत राप्रपा निर्माण भएमा तीन वटै अध्यक्षलाई वरिष्ठ नेता तथा सल्लाहकारका रुपमा सम्मान गरिने र नेतृत्वका लागि नयाँ व्यक्तित्व खोजिने भएको छ । आवश्यक परेमा पार्टीको वैचारिक दृष्टिकोणमा पनि छलफल गरी जनताको चाहनालाई केन्द्रविन्दुमा राखेर हिन्दू राष्ट्र कायम गर्ने विषयलाई पनि निरन्तरता दिइने भएको छ ।

पार्टीभित्रको फुट, आन्तरिक विवादका साथै वाम एकताको असरले समेत यी दलले चुनावमा हार व्यहोर्नुपरेको परेको केही नेताको बुझाइ छ । पछिल्लोपटक नेपालगञ्जमा पूर्वराजासँग राप्रपाका केही नेताले भेट गरेपछि मुलुकमा हिन्दू राष्ट्रलगायतका विषयमा नयाँ ढंगबाट बहस शुरु हुन थालेको छ ।

राप्रपा मुलुकमा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि २०४७ साल जेठ १५ गते स्थापना भएको पार्टी हो । तत्कालीन समयमा परिवर्तित राजनीतिक प्रणालीमा देशलाई एउटा वैकल्पिक शक्ति स्थापना गर्न पञ्चायत पृष्ठभूमिमा बसेर राजनीति गरेका नेताहरुको सहभागितामा नयाँ धारका रुपमा सो दल स्थापना भएको थियो ।

पछिल्लो पटक राप्रपा नेपाल र राप्रपाको एकीकरण हुँदा राप्रपा तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी थियो । पार्टी नेतृत्वले एकता अधिवेशनमा गरेका प्रतिबद्धता विपरीत नेतृत्व व्यक्तिगत स्वार्थमा केन्द्रित भएको र अध्यक्ष थापा अवसरवादी बन्दै सरकारमा सामेल भएको भन्दै चौँथो दिनमै वरिष्ठ नेता लोहनीले पार्टी परित्याग गरेपछि समस्या बढ्दै गएको थियो ।

चुनाव चिह्नका बारेमा पनि लोहनीले असन्तुष्टि जनाउँदै एनसेलको कर छुटसम्बन्धी अर्थमन्त्रीको मौखिक प्रस्तावलाई पार्टी अध्यक्ष थापाले समर्थन गरेर खुल्लमखुला भ्रष्टाचारलाई वैधानिक बनाउन सहयोग गरेकाले पार्टीबाट अलग भएको जनाएका थिए । लोहनीले पूर्व मन्त्री केशर विष्टसंग सहकार्य गरी विसं २०७३ मंसिर १७मा एकिकृत राप्रपा राष्ट्रबादी गठन गरी अध्यक्ष बनेका थिए थियो । सो पार्टीका सहमहामन्त्री प्रदीपविक्रम राणाले पहिलो प्राथमिकता एकताका लागि हुने र एकता कायम हुन नसकेका पञ्चायत पृष्ठभूमिबाहेकका नेताको सक्रियतामा नयाँ पार्टी स्थापना हुने जानकारी दिए ।
स्थानीय तहको चुनावपछि राणाको समूह पनि संस्थापन राप्रपाबाट फुटेर गत साउन २४ मा राप्रपा प्रजातान्त्रिक गठन गरी अध्यक्ष बनेका थिए ।
करिब एक महिनाभित्र मुलुकले नयाँ राष्ट्रवादी पार्टी प्राप्त गर्ने नेताहरुको दाबी छ ।