काठमाडौं-राहदानी विभागले पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालेको छ । नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने गरिएको गुनासो आउने गरेकाले दूरुपयोगको आशंकामा इ–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालिएको हो ।


ADVERTISEMENT


खासगरी नेपाल बाहिरबाट आउने आबेदनमा दुरुपयोग वा गलत भएको आशंका हुने गरेको छ। एमआरपीबाट मात्रै दूरुपयोग रोक्न सम्भव नभएको विभागले जनाएको छ। विभिन्न १० मुलुक र राहदानी विभागमा लाइभ इनरोलमेन्ट (आफैं उपस्थित भएर अनलाइनमा फर्म भर्ने) चलाएको भए पनि त्यो उत्साहजनक उपयोगमा नआएको विभागका अधिकारीले बताए ।


ADVERTISEMENT

# # #


एमआरपीलाई ई–पासपोर्टमा लैजाने तयारीस्वरुप सरकारले दुई बर्षअघि नै लाइभ इनरोलमेन्ट प्रक्रिया अघि बढाएको हो । सहजताका लागि अझै पनि आवेदन फारम बुझ्ने गरिएको छ । जनताको सुविधा हेरिएको बताइए पनि यो जिम्मेवारीबाट पन्छिने कार्य भैरहेको एक अधिकारीले बताए ।

एमआरपी छपाई गरिरहेको फ्रान्सेली कम्पनी ओभरथरले नै लाइभ इनरोलमेन्टका लागि प्रविधि उपलब्ध गराएको छ । ई–पासपोर्टको संरचना हुने गरि त्यो प्रक्रिया मिलाइएको भए पनि अहिले त्यो उत्साहजनक भने हुन नसकेको अधिकारीहरु नै बताउछन् । हस्तलिखित राहदानीलाई पूर्ण रुपमा विस्थापित गरिसकेको राहदानी विभाग पासपोर्टको चापमा छैन ।

अव यस्तै सुरक्षाका विशेषता थप्दै आफ्नो मुलुकको पासपोर्टलाई बलियो र गर्विलो बनाउने तर्फ लाग्नुपर्ने सुझाव परराष्ट्रका अधिकारीहरुको छ । दैनिक सात हजारसम्म पासपोर्ट छापेको विभागले अहिले दैनिक बढिमा दुई हजार सात सयमात्र छाप्ने गरेको छ। यो छपाई कहिलेकाही निकै घटेको तथ्यांक पनि छ ।

वैदेशिक रोजगारीमा गएका केही नेपालीसँग अझै पनि हस्तलिखित पासपोर्ट भए पनि फर्कने क्रममा उनीहरुले एमआरपी बनाएका हुन्छन् । मलेसिया, साउदी अरबको रियाद र जेद्दा, युनाईटेट अरब इमिरेट्स (युएई), कुवेत, कतार, हङकङ, अमेरिका (डिसी र न्युयोर्क), बेलायतमा ‘लाइभ–इनरोलमेन्ट’ छ। तर, ती दूतावासहरुले लाइभ इनरोलमेन्टभन्दा बाहिरबाट पनि फारम पठाइरहेका छन् ।

दुरी र असुविधाको कारण देखाएर त्यसरी राहदानी बनाउदा गलत ब्यक्तिले पनि त्यस्तो राहदानी लगेको हुनसक्ने आशंका राहदानी बिभागको छ । ‘राहदानीका लागि आवेदन फारम सम्वन्धित ब्यक्तिले नै बुझाउन आउनुपर्छ ।

हुलाकबाट पठाउदा गलत ब्यक्तिले पठाउन सक्ने सम्भावना रहन्छ । यसमा दूतावास सचेत हुन जरुरी छ । टाढा रहेका छन भने सूचना जारी गरेर विभिन्न स्थानमा मोवाइल पासपोर्ट आवेदनको लाइभ इनरोलमेन्ट समेत राख्न सक्ने उपकरण हरेक दूतावासलाई उपलब्ध गराइएको छ ।