काठमाडौं-निर्माण कार्यको अन्तिम चरणमा पुगेको कुलेखानी-३ को सिभिल वर्कको जिम्मा लिएको सिनो हाईड्रो कम्पनीले एक सातादेखि निर्माण कार्य रोकेको छ ।


ADVERTISEMENT


नेपाल विद्युत प्राधिकरणबाट क्षतिपुर्तिको रकम माग गर्दै कुलेखानी-३ को निर्माण कार्य ठप्प पारेको छ । नेपाल विद्युत प्राधिकरणको ढिला सुस्तीका कारण निर्माण कार्य समयमा नै सुरु गर्न नपाएको र ईलेक्ट्रो मेकानिकल तर्फको कारणले कामलाई निरन्तरता दिन नसकेकाले उक्त अवधिको क्षतिपुर्ति रकम उपलब्ध गराउन माग गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


सन् २००८ को मुल्य र अहिलेको मुल्य एवं दर भाउमा धेरै फरक परेकाले प्राधिकरणसंग उक्त निर्माण कम्पनीले क्षतिपुर्ति माग गर्दै आएको थियो । प्राधिकरणले विगतमा करीब १७ करोड रुपैयाँ क्षतिपुर्ति रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको भएपनि अहिलेसम्म भुक्तानी नदिएकाले सिनो हाइड्रो कम्पनीले पुस ११ गते देखि निर्माण कार्य ठप्प पारेको छ ।

उक्त कम्पनीको तर्फबाट आयोजनाको निर्माण कार्यमा ९० जना कामदार र प्राविधिकहरु खटिरहेका थिए । ‘प्राधिकरणसंग क्षतिपुर्तिको माग गर्दै एक्कासी सिनो हाइड्रो कम्पनीले निर्माण कार्य ठप्प पार्‍यो’ आयोजना एक अधिकृतले भने, ‘सिभिल वर्कको निर्माण कार्य सम्पन्न हुने अवस्थामा कम्पनीले काम नै रोक्यो ।’

सिभिल वर्कको काम अब एक प्रतिशत मात्र बाँकी छ । ‘आगामी माघ ७ गतेसम्म सिभिल वर्कको काम सबै सकिन्थ्यो’ आयोजनाका प्राविधिकले भने, ‘काम सम्पन्न भएपछि सिभिल वर्कको निर्माण कम्पनीलाई प्राधिकरणले विदा दिने सोचमा थियो ।’

प्राधिकरणले क्षतिपुर्ति रकम उपलब्ध नगराईकन काम सम्पन्न गर्दैनौं, निर्माण कम्पनीका एक इन्जिनियरले भने, ‘प्राधिकरणको ढिला सुस्तीको कारण ४४ महिनामा सम्पन्न गर्ने भनिएको योजना ८८ महिनामा पनि नसकिएको हो । सरकारले छैंठो पटक कुलेखानी-३ को निर्माणको म्याद थप गरेको थियो ।

छैंठौ पटक थप गरिएको अन्तिम अवधि आगामी माघ ७ गते रहेको छ । निर्माण कार्य अवरुद्ध नगरेर सिभिल वर्कको काम गरेमा माघ ७ गते अगावै सकिने अवस्था छ तर इलेक्ट्रो मेकानिकल तर्फको कार्य भने माघ ७ गते पनि सम्पन्न हुने अवस्था छैन । इलेक्ट्रो मेकानिकल तर्फको निर्माण हालसम्म ८० प्रतिशत मात्र काम सकिएको छ । विद्युत गृहमा जडान गर्ने उपकरण विगत २ महिना देखि कलकत्ता बन्दरगाहमा नै रोकिएको छ । इलेक्ट्रो मेकानिकलको काम सुस्त गतिमा भइरहेको छ ।

‘यस्तै ढंगले काम भयो भने २०७४ सालमा पनि कुलेखानी-३ को निर्माण कार्य सम्पन्न हुँदैन’ आयोजनाका एक इन्जिनियरले भने ।’ स्वदेशी लगानीमा निर्माणाधिन कुलेखानी तेस्रो जलविद्यूत आयोजनाको निर्माण कार्य सम्पन्न गर्न अझै केही महिना लाग्छ । निर्माण कार्य ढिला भएकाले आयोजनाको लगानी पनि बढ्दै गएको छ । करीब ५ अर्ब भन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ ।

२०६४ चैतदेखि काम सुरु गरिएको उक्त आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । पटक/पटकको म्याद थपसंगै लागत पनि झण्डै २ अर्ब बढने अनुमान गरिएको छ ।

कुलेखानी ३ को सुरु निर्माण लागत २ अर्ब ४३ करोड अर्थात प्रति मेगावाट १७ करोड ३६ लाख रुपैयाँ थियो । अहिले यस्को लागत बढेर ४ अर्ब ६३ करोड अर्थात प्रति मेगावाट ३१ करोड रुपैयाँ पुगेको छ । अझ यो लागत बढ्ने छ ।

४४ महिनामा काम सम्पन्न गर्ने लक्ष्य लिएर सुरु गरिएको आयोजना ८८ महिना बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । कुलेखानी तेस्रो १४ मेगावाट जलाशय बनाउन नपर्ने ‘क्यास्केड प्रोजेक्ट’ हो । तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभएकाले आयोजनाको लागत बढेको छ ।

वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट आवर विद्युुत उत्पादन गर्ने क्षमता रहेको छ । १४ मेगावाट विद्युत उत्पादन हुने कुलेखानी तेस्रो जलविद्युत आयोजनामा करीब चार अर्ब खर्च भइसकेको छ ।