काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास व्यक्त गरे।


ADVERTISEMENT

# # #


अर्को प्रसङ्गमा अध्यक्ष दाहालले भने “वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत प्राप्त भएको छ । त्यो मतलाई हामी देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील छौँ । जनताले पनि हामीबाट ठूलो अपेक्षा गरेका छन् । जनताको उक्त अपेक्षालाई हामी पूरा गर्छौं । कार्यान्वयनमा लैजान्छौँ ।”

उनले राजनीतिक स्थायित्व कायम गरेर देशलाई आर्थिक समृद्धिको दिशामा लैजान आफूहरु क्रियाशील रहेको बताउँदै अब सुशासन र विकासको युग शुरु भएको छ भने। “आर्थिक समृद्धि, सुशासन तथा जनताको पक्षमा काम गर्ने जिम्मेवारी वाम गठबन्धनको काँधमा आएको छ”, उनले भने ।

नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ मत दिए पनि प्रतिपक्षमा रहेका दललाई समेत समेटेर लैजानेतर्फ आफू क्रियाशील रहेको उनको भनाइ थियो । सबैलाई मिलाएर देशलाई समुन्नतिको मार्गमा लैजाने भन्दा आफू र आफ्नो पार्टीको अरु कुनै लक्ष्य र उद्देश्य नरहेको उनको भनाइ थियो ।

टोल सुधार समितिले स्थानीय समस्या समाधानका लागि पहल गरिदिन, वाम गठबन्धन सफल बनाउन, मुलुकलाई आर्थिक समृद्धिको मार्गका लैजान र देशका तमाम समस्या समाधान गर्न अध्यक्ष दाहालसँग आग्रह गरेको टोल सुधार समितिका सदस्य गंगालाल तामाङले जानकारी दिए ।