काठमाडौं-मेलम्ची आयोजनाको सुरुङअन्तर्गत् अम्बाथान-ग्याल्थुम खण्डको ब्रेक-थ्रु भोलि शनिबार हुने भएको छ । आयोजना प्रमुख रामचन्द्र देवकोटाका अनुसार करिब ८ किलोमिटरको यो खण्डको ब्रेक-थ्रु शनिबार गर्ने योजना छ ।


ADVERTISEMENT


त्यसपछि ग्याल्थुम-सिन्धु सुरुङ मात्रै ब्रेक-थ्रु गर्न मात्रै बाँकी रहनेछ । उक्त खण्डको पाँच सय १५ मिटर खन्न बाँकी छ । आगामी चैतसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने आयोजनाको लक्ष्य छ ।


ADVERTISEMENT

# # #


‘अर्को खण्ड पनि जनवरीभित्रै ब्रेक-थ्रु गर्ने योजनामा काम गरिरहेका छौं,’ देवकोटाले भने, ‘बाँकी खण्डमा नरम चट्टान भेटिएकाले केही समस्या छ । तर, समयमै काम सक्न हामी प्रतिवद्ध छौं ।’

उनका अनुसार सुरुङ खन्दा नरम चट्टान भेटिए समस्या हुन्छ, बलियो चट्टान भेटिँदा काम सहज हुन्छ । दुवै खण्ड ब्रेक-थ्रु भएपछि सुरुङ खन्ने काम सकिनेछ । सुुन्दरीजलदेखि सिन्धुसम्मको करिब नौ दशमलव चार किमि सुरुङ ०७३ पुस मध्यमै छेडिएको थियो ।

खनिसकिएको सुरुङको प्लास्टर र फिनिसिङको काम पनि सँगै अगाडि बढाइएको छ । सात महिना अघिदेखि सुरुङभित्र प्लास्टरको काम गरिँदैछ । सुरुङको प्लास्टरका भारतबाट आठ वटा मिक्स्चर मेसिन नेपाल आइसकेका छन् । सुरुङ छेडेर प्लास्टर सकिएपछि सीधै मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा ल्याउने योजना छ । प्रशोधनपछि मात्रै यसलाई वितरण लाइनमा पठाइनेछ ।

प्रशोधन केन्द्रको परीक्षण भइरहेको छ । साढे आठ करोड लिटर क्षमताको उक्त प्लान्टमा वागमतीको पानी हालेर परीक्षण गरिएको छ । ‘जुन, सफल भएको छ । अब सुरुङबाट पानी ल्याउनासाथ वितरण सञ्जालमा पठाउन समस्या हुँदैन,’ देवकोटाले भने ।

सुरुङ निर्माणको काम इटालीको कम्पनी को-अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले गरिरहेको छ । चाइना रेल्वेले सेप्टेम्बर २०१३ सम्म काम सक्ने गरी सन् २००९ मा सुरुङको ठेक्का लिएको थियो । तर, काम सुस्त भएपछि सन् २०१२ मा सम्झौता तोडिएको थियो ।

त्यतिबेला चिनियाँ ठेकेदारले ६ किलोमिटर मात्रै सुरुङ खनेको थियो । इटालीको कम्पनीले पनि भूकम्प र नाकाबन्दीको कारण समयमै काम गर्न सकेको थिएन । अब भने अन्तिम चरणमा पुगेको छ ।