काठमाडौं-एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने जनाएका छन् । पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेका दुवै दलका नेताहरु छिटो एकताको खाका तयार गर्दै सरकार निर्माणतर्फ लाग्ने निष्कर्षमा पुगेका हुन ।


ADVERTISEMENT


पछिल्लो ५ दिन गृहजिल्ला चितवनमा बिताएर मंगलबार राजधानी फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार दिउँसो एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । त्यहाँ दुई अध्यक्षबीच झण्डै डेढ घण्टा छलफल भएको थियो ।


ADVERTISEMENT

# # #


भेटमा एकता र सरकार निर्माणमा भइरहेको आशंका चिर्दै छिटो निष्कर्षमा पुग्ने समझदारी भएको दुवै दलका नेताहरुले बताएका छन् । एकता र सरकार निर्माणको विषयमा दुई नेताकै तहमा धेरै कुरा छिनोफानो गरेपछि पार्टी एकता संयोजन समितिको बैठकबाट त्यसलाई अन्तिम टुंगो लगाउने तयारी छ ।

‘पार्टी एकता प्रक्रिया छिटो टुंग्याउनुपर्ने भन्नेमा अध्यक्षहरू सहमत हुनुहुन्छ र त्यहीअनुसार हिजो (बुधबार) बाट छलफल अघि बढाउनुभएको छ,’ एमाले–माओवादी एकता संयोजन समितिका सदस्यसमेत रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘उहाँहरूकै तहमा केही गृहकार्य भएपछि एकता संयोजन समितिको बैठक बस्ने छ ।’ पार्टी एकता नै गर्न केही समय लाग्न सक्ने भएकाले सरकार गठनअघि नै एकताको स्वरूप भने तयार गर्ने दुवै पक्षको तयारी छ ।

त्यही खाका तयार गर्ने क्रममा दुवै दलका नेताहरू विकल्पहरूको खोजी गरिरहेका छन् । ‘चुनावी परिणामले नै दुई दललाई एकतामा बाँधिसक्यो, त्यसैले त्यसभन्दा फरक तरिकाले जान सकिँदैन भन्ने दुवै दलको धारणा हो,’ ओली निकट एमाले पोलिटब्युरो सदस्य अग्नि खरेलले भने, ‘त्यही स्पिरिटअनुसार अध्यक्षहरूबीच कुराकानी भएको छ र छिट्टै टुंग्याउनुपर्छ भन्ने ढंगले नै उहाँहरू लाग्नुभएको छ ।’ उनले पनि दुई नेताकै तहमा धेरै विषय टुंग्याएर त्यसलाई औपचारिक रूपमा निष्कर्षमा पुग्ने ढंगले छलफल अघि बढेको बताए । त्यसैका लागि बुधबार ओली र दाहालबीच एक्लाएक्लै कुराकानी भएको उनले जानकारी दिए ।