नेकपा एमालेका  केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं ५ को प्रदेश सभा (क) का  नवनिर्वाचित सांसद हिक्मत कार्कीसंग  हिमालय पोष्टले गरेको बिशेष कुराकानी  :


ADVERTISEMENT


प्रदेश सभा सदस्यका लागि जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुभएको छ । कस्तो रह्यो अनुभव ?


ADVERTISEMENT

# # #


पार्टी जीवन र संगठनका क्षेत्रमा आन्तरिक तर्फका धेरै निर्वाचनमा जितेपनि जनप्रतिनिधिको रुपमा उम्मेदवार बनेर जितेको मेरो यो पहिलो अनुभव नै हो । निर्वाचनमा उम्मेदवार बन्ने कुरामा पनि एउटा महत्वपूर्ण विषय हो । पार्टीले तथा गठबन्धनले पत्याएर उम्मेदवार हुने कुरा मेरो लागि परीक्षा र अवसर थियो । सायद म त्यसमा पास भएको छु । अब मेरो वास्तविक जीवनको परीक्षाको घडी प्रारम्भ भएको छ । हामी अहिले संविधानको कार्यान्वयनको एउटा महत्वपूर्ण र अन्तिम चरणमा आइपुगेका छौँ । हामीले संविधानमा भएका प्रावधानको कार्यान्वयन गरेका छौँ । अहिले म निर्वाचित भएको प्रदेशसभा भनेको नेपालकै इतिहासमा एउटा नयाँ अभ्यास हो । मलाई लाग्छ माघको पहिलो हप्ताभित्र व्यवस्थापिका निर्माण भइसक्छ । हाम्रो गठबन्धनको बहुमत आएकोले सरकार निर्माणको काम पनि त्यही समयदेखि प्रारम्भ हुन्छ । अब सरकारले चाँडै नै अस्थायी राजधानी तोक्छ । त्यही अनुसार हामी काम गर्छौँ ।

अब तपाई निर्वाचित भइसक्नु भएको छ । जनताले के कस्ता इच्छा, आकांक्षाको सम्बोधन गर्नका लागि तपाईलाई निर्वाचित गरेजस्तो लाग्छ ? के गर्ने योजना छ यो कार्यकालमा ?

यसको बृहत रुप छ । संविधान कार्यान्वयनका लागि यो निर्वाचन भएको छ । जनताले बुझ्दा मुलूकको विकास निर्माण र समृद्धिका लागि निर्वाचन भएको छ । ००७ सालदेखि नै आधुनिक नेपाल सुरुवात भएको भनिए पनि हामी ६ दशकपछि मात्र विकास र समृद्धि कुरा गर्दैछौँ । दुनिया कहाँ पुगिसक्यो । तर पर्याप्त सम्भावना हुँदाहुँदै पनि हामी पछाडी परिरहेका छौँ । यस कारण जनताले विकास र समृद्धि, रोजगारी र न्युनतम आवश्यकता पूर्तीको महशुस गरेका छन् ।

त्यसमा पनि बाटोघाटो, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योगका कुराहरु सबैभन्दा बढी उठेका छन् । हामी पनि त्यही अनुसार अगाडी बढिरहेका छौँ । यी कुराहरुलाई नै हामीले हाम्रा घोषणापत्रमा उठाएका छौँ । त्यस कारण यिनै कुरालाई नै संवोधन गर्ने हाम्रो पहिलो दायित्व हो । हिजोको जस्तो ९ महिनामा ढल्ने सरकार होइन अब पाँच वर्ष सरकारको निर्माण हुँदैछ । यो ५ वर्षको अवधीमा यी कुराको संवोधन हुन्छ भन्ने म ठान्दछु । हामीलाई काम गर्नका लागि पर्खिने दिन, समय छैन । हिजो कछुवाको गतिमा देशका गतिविधि हुन्थे भने अब हामी यसलाई खरायोको गतिमा लैजान्छौँ ।

देशमा संविधान निर्माण भएर निर्वाचन पनि सम्पन्न भइसकेको छ । सबै राजनीतिक एजेण्डा समाप्त भइसकेका छन् । अब मुलूकको विकास र समृद्धि नै सबैको साझा एजेण्डा भन्ने गरिएको छ । यसमा तपाईको धारणा के हो ?

राजनीतिक मुद्दाहरु हाम्रा गतिविधि अनुरुप निर्माण हुँदै जाने हुन् ।  नेपाललाई संघीय लोकतान्त्रिक बनाउने सन्दर्भमा सबै दलहरु एक ठाउँमा आएका थिए । त्यो संविधानमा व्यवस्थापन भइसकेको छ । अब हाम्रा मुलभूत राजनीतिक मुद्दाहरु सकिए । अब यो देशको विकास र समृद्धि पहिलो र महत्वपूर्ण एजेण्डा बन्नुपर्छ भन्ने कुरा सबै दलका चुनावी घोषणापत्रमा उल्लेख भएका छन् । अब हामीले यी कुराको कार्यान्वयनका लागि काम गर्नुपर्ने बेला आएको छ ।

प्रतिवद्धताहरु एक ठाउँमा छन् । तर त्यसको कार्यान्वयन कठिन हुन्छ । विकासलाई मूर्त बनाउनका लागि आधारहरु के हुन् ?

विकासका प्रमुख आधारहरुमा पहिलो बाटो नै पर्छ । स्तरीय नबनेपनि ट्र्याकहरु खोलिएका छन् । उत्पादनलाई बजारमा लैजान सकिएको छैन । जहाँका जनता शिक्षाको पहुँचमा हुन्छन्  त्यस देशले विकासमा फड्को मार्छ । सम्भावनाहरुको खोजी हुन्छ । त्यस कारण विकास निर्माणका लागि शिक्षा, स्वास्थ्य, चेतना र उत्पादनका क्षेत्रमा राज्यका तर्फबाट ठूलो लगानी गर्नुपर्छ । विकासको गति तीव्र गतिमा अगाडी बढ्नुपर्छ । मलाई लाग्छ, विकासका लागि त चिनियाँ मोडलमा जानु उपयुक्त हुन्छ । नेतृत्वकर्ताको क्षमता र योजना विहीनताको शिकार हामी भएका छौँ । त्यस कारण अब हामीले यी समस्याहरु हटाउँदै जानुपर्छ । इमान्दार, भिजन भएको व्यक्ति नेतृत्वमा पुग्यो भने देशले गति लिन्छ जस्तो लाग्छ मलाई ।

तपाईहरु निर्वाचित हुनु भएको छ । तर कहाँ बस्ने भन्ने कुनै टुङ्गो छैन । प्रदेशको राजधानी कहाँ हुने भन्ने पनि टुङ्गो छैन । यस्ता यावत विषयहरु बाँकी नै छन् । यसले कहिले सम्म पूर्णता पाउँछ ?

संसद पूरा भएको ३५ दिनभित्र संसद बैठक बस्नु पर्छ । त्यो पूरा हुन अब एक हप्ता मात्रै बाँकी छ । पुस २० सम्म प्रदेश संसद तयार हुन्छ । त्यसको ३५ दिन अर्थात माघ २५ भित्र हामीले बैठक बसाइ सक्नु पर्छ । त्यसपछि प्रदेश सरकार तुरुन्त बन्छ ।

तर स्थिति तपाईले भनेजस्तै छ । अस्थायी राजधानी समेत तोकिएको छैन । प्रदेश सांसदले कहाँ शपथ लिने भन्ने पनि टुङ्गो छैन । विगतको सरकारले यो गर्नु पर्ने थियो, हुन सकेन तर अहिले आफू काम चलाउ भइसकेपछि गर्न खोज्नु बेठिक हो । त्यस कारण सबैदलहरु एक ठाउँ बसेर तुरुन्तै ती कुराको टुङ्गो लगाउनुपर्छ भन्ने मेरो धारणा हो ।

प्रदेश नं १ मा तपाईको नाम मुख्यमन्त्रीका रुपमा चर्चामा छ । यसको बारेमा के भन्नुहुन्छ ?

यसमा मिडियाहरुले हिक्मत कार्कीको दाबी भनेर लेखेको पढेँ । यसमा मेरो दाबी होइन । प्रदेश सभा सदस्यको हैसियतमा त्यो पदका लागि म योग्य भएँ भन्ने लाग्छ । म जस्तै अरु सबै योग्य छन् । तर प्रदेश सभा सरकारको सञ्चालन सतह देखि नै सुरु गर्नुपर्ने छ । नयाँ कुराको सुरुवात गर्नेबेला धेरै किसिमका अलमलहरु हुन्छन् । ती अप्ठ्याराहरु चिर्दै जनादेशको आवश्यकतालाई सम्बोधन गर्न सक्ने खुबी सबैमा हुँदैन । तर म ती कुराहरुको व्यवस्थापनका लागि योग्य छु जस्तो लाग्छ । भोलि पार्टीले मलाई दियो भने त म शिरोधार्य गरेर टिम बनाउँदै काममा जान्छु । प्रदेश नं १ मा मुख्यमन्त्रीको दाबी भन्दा पनि काम गर्छु भन्ने दाबी हो । यसमा सल्लाह गरेर टुंगो लगाउनुपर्छ ।  ।

अब संघीयतामा गइसकेपछि प्रदेश प्रदेशबीच पनि विकास निर्माणमा प्रतिस्पर्धा होला । स्रोत साधनको अधिकतम परिचालन गरेर सम्पन्न प्रदेश बनाउनका लागि काम गर्नुपर्ला । तपाईले प्रदेश सरकारको नेतृत्वको दाबी गर्दैगर्दा प्रदेश नं १ कस्तो प्रदेशका रुपमा देख्न सकिन्छ ?

सातवटा प्रदेशमा रहेका सरकारका प्रमुखहरुले विकास, समृद्धि, साक्षरता लगायतका हिसाबले अन्य प्रदेश भन्दा आफ्नो प्रदेशलाई एक नम्बर बनाउँछु भन्ने आकांक्षा दाबी गर्नुपर्छ । स्वभाविक रुपले हामीले पनि भन्नु नै पर्छ । अहिले पनि सबै दृष्टिकोणले सबैभन्दा अग्र स्थानमा नै पर्छौँ । मेरो एउटा भनाई के छ भने, हामी अहिले नामको एक नम्बर छौँ । भोलिका दिनमा यसलाई कामको एक नम्बर बनाउनु पर्छ भन्ने हो । पर्यटकीय ठाउँहरु, प्राकृतिक स्रोत साधनहरुको परिचालन गर्दै त्यसमा अग्रसर हुनुपर्छ ।

खासगरी प्रदेश नं १ लाई विविध क्षेत्रमा यसका सम्भावना देखेको छु । एउटा भनेको यो क्षेत्र भौगोलिक हिसाबले पनि अत्यन्तै मनोरम, सुन्दर छ । हिमालदेखि तराईको समथर भूभागसम्म फैलिएको सुन्दर ठाउँ छ । विश्वको अग्लो हिमाल सगरमाथा यहीँ छ । देशको सबैभन्दा होचो ठाउँ केचना, इलामको चियाबारी अनि कोसी क्षेत्र पनि यहीँ छन् । यहाँको पर्यटन प्रवद्र्धन गर्नपर्छ । यसले विकासलाई एकदमै चाँडो अगाडी लैजान्छ र आर्थिक सम्वृद्धिमा टेवा पुग्छ ।

अर्को भनेको कृषिको व्यवशायिकरण हो । कृषिलाई उद्योगीकरण, रोजगारी र अर्थतन्त्रसंग जोड्ने कुरामा हामी लाग्नुपर्छ । आयात घटाएर निर्यात बढाउने कुरामा ध्यान दिनुपर्छ । अर्को भनेको उर्जा हो । यहाँ धेरै नदी नाला मध्ये थोरैमा मात्रै विद्युत उत्पादन भएको छ । पानी त्यत्तिकै खेर गइरहेको छ । त्यसको सदुपयोग गरिनुपर्छ । रोजगारका लागि विदेशिएका युवाहरु हाम्रा सम्पत्ति हुन् । तिनीहरुलाई देश मै बसेर गरीखाने वातावरणको विकास गर्नुपर्छ । कुनैपनि देशको विकासका लागि जनसंख्याले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।  यिनै कुरा कार्यान्वयन गर्न सकियो भने प्रदेश नं १ नाम मात्रै होइन कामले पनि एक नम्बरमा हुन्छ ।

यसको लागि त राजनीतिक सहमती आवश्यक हुन्छ । केही दिनको वातावरण हेर्दा राजनीतिले ‘यूटर्न’ लिन्छ जस्तो छ । यो बीचमा सबैसंग सहकार्य गरेर कसरी विकास गर्न सकिन्छ ?

अब राजनीतिक दलको सहकार्य भनेको जनादेशको अनुसार हुनुपर्छ । यसको अर्को विकल्प छैन । अहिले जनताले को सरकारमा र को विपक्षमा बस्ने भनेर निर्णय गरिसकेका छन् । निर्वाचन परिणामलाई पाँच वर्षसम्म आत्मसाथ गर्नैपर्छ । अर्को कुरा सत्ता सम्हाल्ने मानिसले देशको हितका लागि जिम्मेवार भएर प्रतिपक्षीलाई सामेत साथमा राखेर जानुपर्छ । यो निर्वाचन परिणाम भनेको केपी ओली सरकारले देश अप्ठ्यारोमा परेको बेला जुन किसिमका अडान लियो । अहिलेको निर्वाचनमा एमालेको अवस्था त्यसकै परिणाम हो । हामीले थोरै समय चलाउँदा पनि केही संकेतहरु दिएका छौँ । त्यसकारण अबको पाँच वर्षमा देशलाई एउटा राम्रो हैसियतमा पुर्याउनका लागि एमालेले नेतृत्व गर्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

खासगरी म नेकपा एमालेको अगुवा कार्यकर्ता हुँ । मलाई मेरो पार्टीले पत्याएर उम्मेदवारको रुपमा पठायो । जसलाई माओवादी र राप्रपाले पनि पत्याए । त्यसको लागि म धन्यवाद दिन चाहन्छु । झापा क्षेत्र नं ५ को प्रदेश नं १ का जनताले मलाई बहुमत दिएर विजयी गराउनु भएको छ, म उहाँहरुप्रति आभारी छु र धन्यवाद दिन चाहन्छु । जनताले जुन आशा र विश्वासले मलाई भोट दिनुभएको छ । त्यसको लागि शिर उच्च राखेर काम गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ । जनताले गरेका अपेक्षाहरु क्रमशः पूरा गर्दै जाने प्रतिवद्धता म तपाई मार्फत जनतालाई भन्न चाहन्छु ।