धुलिखेल– दनुवार समुदायको जीवनस्तर सुधार गर्न नसकेको भन्दै पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले दुःख व्यक्त गरेका छन । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– १२ बालुवास्थित दनुवार बस्तीमा अझै पनि चिरा–चिरा परेका अवस्थाका घर भएको र पुनःनिर्माणका लागि आवश्यक जनशक्ति र आर्थिक अभाव भएको उनले बताए ।


ADVERTISEMENT


विसं २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पु¥याएका बकुल्टार र बालुवास्थित दनुवार बस्तीका अधिकांश घर अहिले पनि उस्तै छन् ।आर्थिक अभाव झेल्दै भूकम्पका कारण बस्ती नै क्षतिग्रस्त भएपछि कष्टकर जीवन गुजारा गर्दै आइरहेका उक्त बस्तीका बासिन्दाले पुनःनिर्माणको काम अगाडि बढाउन सकेका छैनन् ।


ADVERTISEMENT

# # #


‘बिरामी हुँदा औषधि किनेर खान सक्ने दनुवार समुदायको अवस्था छैन, घर बनाइदिने निकाय भए राम्रो हुन्थ्यो’, उपप्रमुख दनुवारले भने । पाँचखाल नगरपालिकाले पनि पहल गरिरहेको लागिरहेको उनको भनाइ छ । विभिन्न संघसंस्थासँग सहकार्य गरेर काम गर्न पाएमा थप सहज हुने र त्यसका लागि सहयोग गर्न सबैलाई उनले आग्रह गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख ध्रुव गैँडा र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अध्यक्षलाई समेत दनुवारले आग्रह गरे । ‘अर्थ उपार्जनको कुनै माध्यम छैन,’ स्थानीयवासी सिमराज दनुवारले भन्नुभयो– ‘घर बनाउन पैसा छैन, भूकम्पले चिरा पारेको घरमा बस्दै आएका छौँ ।’

भूकम्प लाभग्राहीको पहिलो किस्ता पाएपछि घर बनाउनुभएका केही लाभग्राहीले दोस्रो किस्ता भने पाउन सकेका छैनन् । गाउँमा पहिलादेखि बनाउँदै आएका काँचो माटोका इँटा र काठको नटले कसेर घर निर्माण गर्नुभएको भूकम्प लाभग्राही बालुवाका पार्वती दनुवार इञ्जिनियरले मापदण्डअनुसार नभएको बताएपछि दोस्रो किस्ता पाउन नसकेको बताउछन । उनले भने, ‘पहिला आउनुभएको इञ्जिनियरले काँचो इँटाले नै घर बनाउँदा पनि हुन्छ भनेपछि घर बनाउन शुरु गरेका हौँ।’ तेह्रजनाको परिवार एकै घरमा बस्दै आएको बताउने दनुवारले सबै परिवार कामको सिलसिलामा घरबाहिर रहेको र अरु रकम नभएका कारण गाउँमा नै उपलब्ध काँचो इँटाले घर निर्माण गरेको बताए। ‘गएको असारमा रु ५० हजार रकम पायौँ।’

सोही घरका अर्का लक्ष्मी दनुवारले अरु केही विकल्प नभएका कारण गाउँमा उपलब्ध सामग्री प्रयोग गरेर निर्माण गरेको घरको पैसा नपाउनु दुःखको कुरा भएको बताए । ‘दुःख लाग्छ, घर बनाएपछि भूकम्पको पैसा पाइन्छ भन्थे, तर घर बनाएको छ महिना बितिसक्यो, पैसा पाउन सकेको छैन’, उनले भने । मापदण्डअनुसार घर बनाएर बस्न पाउनुमा नै ठूलो उपलब्धि ठान्नुभएका उहाँहरु अब अर्को घर निर्माण गर्न नसक्ने बताउछन । सोही टोलका सानु दनुवारले पनि घर बनाएर दोस्रो किस्ता नपाएको बताए । ‘मैले पनि त्यसरी नै काँचो इँटाले घर बनाएको हुँ, घर त सम्पन्न भयो, मापदण्डअनुसार भएन भनेर पैसा दिएनन्।’ सानु दनुवारले भने, ‘यतिसम्मको घर त जसोतसो बनायौँ, अब पैसा पाए पनि नपाए पनि अर्को घर बनाउन सक्दैनौँ।’ अरु थप पैसा नभएकै कारण त्यसलाई भत्काएर पुनःनिर्माण गर्न नसक्ने उनको भनाइ छ ।

पार्वती र सानु दनुवारले जस्तै सोही टोलका करिब १०/१२ घरपरिवारले काँचो इँटाबाट घर निर्माण गरिसकेका छन् । तर ती घर भूकम्प प्रतिरोधी दृष्टिकोणले प्राविधिकरुपमा उपयुक्त नभएको भन्दै इञ्जिनियरले स्वीकृति नगरेपछि लाभग्राहीले पाउनु पर्ने रकम पाउन सकेका छैनन् । न पटकसम्म पाँचखालस्थित प्रभु बैंकको शाखामा गएँ, नाम लिष्ट आएकै छैन भन्ने जवाफ पाउने गरेको छु,’उनले भने। अरु ठाउँमा जग्गा भए पनि पैसा नभएका कारण अर्को घर बनाउन सक्ने अवस्था नभएको उनको भनाइ छ । काँचो माटोकै त्यस्तै घर रु दुई लाखमा बन्न नसक्ने उनको भनाइ छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख ध्रुव गैँडाले विपन्न दनुवार बस्तीका बासिन्दाका लागि सहयोगी दातासँग समन्वय गरी काम गर्न प्रक्रिया अगाडि बढाइरहेको बताए ।

‘नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले मसँग त्यहाँको समुदायको अवस्थाका बारेमा जानकारी गराउँँदै सहयोगी निकायसँग समन्वय गर्न भन्नुभएको थियो, त्यहीअनुसार प्रक्रिया अगाडि बढिरहेको छ’, उनले भने, ‘अहिले त्यहाँका दनुवार बस्तीका समुदायलाई घर निर्माणको लागि ‘हेभिट्याट फर ह्युमानिटी’ संस्थासँग मिलेर संकुचित माटोबाट इँटा बनाउने काम भइरहेको छ, त्यसबाट भूकम्प प्रतिरोधी घर निर्माणमा सहयोग मिल्नेछ ।’ करिब १८० घरधुरी रहेको दनुवार बस्तीका बासिन्दा एकाध घरपरिवारबाहेक अझै पनि अधिकांश चिरा परेकै घरमा बस्दै आएका छन। त्यहाँका अधिकांश घरका भित्ता फाटेका छन् भने पाली भत्केका छन् । त्यस्तै घरमा उहाँहरुको दिनचर्या चलिरहेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अध्यक्ष युवराज भुसालले दनुवार बस्तीमा काँचो इँटाले बनाएका घर प्राविधिकरुपमा थप मजबुत बनाउँदै प्रक्रिया अगाडि बढाउन जिल्लास्थित सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवाललाई निर्देशन दिएको बताए। बहत्तर हजार ४१७ घरपरिवार लाभग्राही रहेको काभ्रेपलाञ्चोकमा ६५ हजार ७७३ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् । पहिलो किस्ता लिएर घर निर्माणको थालनी गरी दोस्रो किस्ता लिनेको संख्या भने निकै न्यून रहेको छ । हालसम्ममा नौ हजार २६९ लाभग्राहीले दोस्रो किस्ता लिएको र निर्माण सम्पन्न गरी अन्तिम किस्ता लिनेको संख्या दुई हजार ८९३ मात्रै रहेको जिल्ला समन्वय समितिको तथ्यांकमा उल्लेख छ । रासस