काठमाडौं-तत्कालीन डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) फाइलको खोजी सुरु भएको छ । किर्ते छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले लोकसेवा आयोग, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग सक्कल कासमू फाइल उपलब्ध गराइदिन अनुरोध गरेको छ ।


ADVERTISEMENT


परिसरले आयोग, मन्त्रालय र कार्यालयलाई आइतबार लाहाछाप लगाइएको सिलबन्दी कासमू फाइल उपलब्ध गराइदिन अनुरोध गरेको हो ।


ADVERTISEMENT

# # #


परिसरले कासमू खुला पृष्ठमा भए लाहाछाप लगाई सिलबन्दी गरी उपलब्ध गराइदिन पनि अनुरोध गरेको छ । छानबिनमा संलग्न अनुसन्धान अधिकृतका अनुसार किर्ते गर्ने व्यक्तिबारे सर्वोच्चले स्पष्ट नगरेकाले अनुसन्धान दायरा ठूलो भएको छ ।

स्रोत खुलाउन दबाब

परिसरले सिलवालको कासमूको स्रोत खुलाई कागजात उपलब्ध गराउन तीन वटा अनलाइनलाई पत्र पठाएको छ । परिसरले सुशासन अनलाइन, शुभदिन डटकम र मूलधार अनलाइनलाई पत्र पठाएको हो ।

पत्रमा ‘नवराज सिलवालको सक्कली र नक्कली कासमू कागजात र सो प्राप्तिको स्रोतसमेत खुलाई उपलब्ध गराएर अनुसन्धानमा सहयोग गरिदिनुहुन अनुरोध गरिएको’ उल्लेख छ ।