चितवन– चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिङ्गे गैँडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लैजाने र शुक्लाफाँटाबाट बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा ल्याउने कार्य एकैसाथ गरिने भएको छ । यही चैत २१ गतेबाट गैँडा स्थानान्तरण थालिने छ ।


ADVERTISEMENT


एक भाले र चारवटा पोथी गरी पाँचवटा गैँडा शुक्लाफाँटामा स्थानान्तरण गर्न लागिएको हो । त्यस सँगसँगै सोही प्राविधिक टोलीले पाँचवटाकै हाराहारीमा शुक्लाफाँटाबाट बाह्रसिङ्गे यहाँ ल्याउन लागिएको छ ।


ADVERTISEMENT

# # #


चितवनबाट शुक्लाफाँटामा गैँडा स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार गैँडा लिएर जाने टोलीले बाह्रसिङ्गे लिएर फर्कने तयारी गरिएको छ ।

गैँडालाई शुक्लाफाँटा पुर्याउन प्राविधिक, सेनालगायतको एक सयजनाको टास्क फोर्स टिम बनाइएको छ । गैँडाको राम्रो वासस्थान रहेको सुकिभार, बुढी राप्ती र नमुना सामुदायिक वन क्षेत्रबाट शुक्लाफाँटाका लागि गैँडा लगिने प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए।

शुक्लाफाँटामा हाल नौवटा गैँडा रहेका छन् । यसअघि सन् २००० मा चारवटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा लगिएको थियो । चितवनबाट लगिएपछि शुक्लाफाँटामा गैँडाको सङ्ख्या १४ पुग्नेछ । शुक्लाफाँटामा गैँडाका लागि चाहिने वासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ । सरकारले शुक्लाफाँटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैँडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

यही निर्णयअनुरुप गतवर्षको फागुन १८ गते चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा लगिएको थियो । बाह्रसिङ्गे हाल शुक्लाफाँटा र बर्दियामा मात्र रहेका छन् । केही वर्षअघि शुक्लाफाँटाबाटै बर्दियामा बाह्रसिङ्गे लगिएको थियो ।

संरक्षणकर्मीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा स्थानान्तरण गर्न नहुने जनाइरहँदा निकुञ्जले बाह्रसिङ्गे पनि ल्याइने भन्दै विरोधलाई साम्य पार्दै आएको छ । दुई महिनाअघि मात्र चितवन राष्ट्रिय निकुञ्जमा कोसीटप्पुबाट १२ वटा र सदरचिडियाखानाबाट तीनवटा अर्ना ल्याइएको थियो । रासस