सिबी अधिकारी, काठमाडौँ – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ ।


ADVERTISEMENT


विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान सफलताका साथ सम्पन्न भइसकेको छ”, उनले भने, “यान्त्रिक उडानको प्रतिवेदन १५ दिनभित्र आएपछि सार्वजनिक गरिनेछ ।”


ADVERTISEMENT

# # #


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । एरोथाई कम्पनीको जहाजले यही मङ्सिर ५ देखि ११ सम्म यान्त्रिक उडान गरेको थियो । यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे÷नगरेको परीक्षणका लागि गरिन्छ । यान्त्रिक उडानमार्फत पोखरा विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिने अन्तराष्ट्रिय अभ्यास छ ।

क्यानले आगामी पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ । प्राधिकरणकको राष्ट्रिय गौरवका आयोजना निर्देशक बाबुराम पौडेलले यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन(एआइटी) मा प्रकाशन गर्ने बताए । उनले भने, “प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिन्छन् र पोखरा गन्तव्यमा उडान गर्नसक्छन् ।”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले आफूहरु विमानस्थल सञ्चालनको तयारीमा लागेका र कुनै पनि किसिमका कमजोरी हुन नदिन विमानस्थल प्रतिबद्धताका साथ लागेको बताए । हाल विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ । अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी एक महिनाभित्र पूरा हुने उनले जानकारी दिए ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानी डाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।

ठेकेदार कम्पनी उमा एण्ड गाल्भा जेभीसँग वैशाखसम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । विमामनस्थल सञ्चालनका लागि चुनौतिका रुपमा रहेको ल्यान्डफिल साइटमा मङ्सिर १८ बाट फोहर फाल्न बन्द गर्ने जानकारीसहितको पत्र पोखरा महानगरपालिकाले विमानस्थल आयोजनालाई पठाइसकेको छ । हाल विमानस्थलबाट दुई किमि टाढा रहेको ल्यान्डफिल साइट रिट्ठेपानी डाँडा कटानबाट निस्किएको माटोले पुर्ने काम भइरहेको महानागरले जनाएको छ ।

पहिलो उडान बुद्ध एयरको

नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरले आवश्यक तयारी गरिरहेको छ । यसका लागि बुद्ध एयरले क्यानसमक्ष उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ । जसअन्तर्गत पोखरा विमानस्थलबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय जहाजले उडान र अवतरण गर्नेछन् । आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्छ । विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ । रासस