काठमाडौँ – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।


ADVERTISEMENT


निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड ७ लाख तीन हजार २७) मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी रहेको छ ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ । हाल गणना भइरहेका छ । निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आँकलन गरिएको छ । बाजुराको बुढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा यही मङ्सिर १० गते पुनःमतदान सम्पन्न भएकाले गणना हुन बाँकी छ ।

दोलखा र स्याङ्जा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि विवाद भएका मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना शुरू गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ ।

कुन पार्टीले कति ल्याए ?

जारी मतगणनामा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार हालसम्म एमालेले २४ लाख ४९ हजार २१४ मत ल्याएको छ । एमालेलाई काँग्रेसले पच्छ्याइरहेको छ ।

दोस्रो स्थानमा रहेको काँग्रेसले २३ लाख ३२ हजार २८३ मत ल्याएको छ । यस्तै तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । माओवादीले १० लाख २४ हजार ८५० मत ल्याएको छ । चौथो स्थानमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) रहेको छ ।

१० लाख मतको आँकडा कटाएको रास्वपले १० लाख ११ हजार ३७५ मत ल्याएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ३१ हजार ५४४, जनता समाजवादी पार्टी (जसपा)ले ३ लाख ३ हजार ९७६ तथा नेकपा एकीकृत समाजवादी २ लाख ४० हजार ९१ मतसहित पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहेका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीले २ लाख ३७ हजार ६१७ तथा रेशम चौधरीकी श्रीमती नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले २ लाख २९ हजार ६८७ मत ल्याएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १ लाख २२ हजार ९७५ मत ल्याएको छ ।

संघीय संसदमा राष्ट्रिय पार्टीको मान्यता पाउन कुनै पनि दलले कूल खसेको मतको ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउनुपर्छ ।