सृजना मगर, काठमाडौँ- नेपाली समाजमा मोटोपनलाई सुखी, खुशी एवम् आनन्दमय पारिवारिक पृष्ठभुमिसंग जोडेर हेर्ने प्रचलन अझै कायम छ । अझ भनौँ ‘ओबेसिटी’ पनि भनिने यसलाई कतिपयले त स्वास्थ्यको दृष्टिकोणबाट नभई आफ्ना आर्थिक हैसियतका आधारमा आत्मसात् गरिरहेका हुन्छन् । जसकारण पनि उनीहरु मोटोपनलाई समस्या मान्दैनन् ।


ADVERTISEMENT


र, यहि नै मोटोपनको विभिन्न कारणमध्ये एक रहेको वरिष्ठ बेरियाट्रिक सर्जन डा. कोशिश नन्दन पोखरेल बताउँछन् । उनी भन्छन्, ‘उच्च तौललाई नेपालीहरुले साधारण रुपमा नै लिएको पाइन्छ । तर, हामीले के बुझ्नुपर्छ भने मोटोपन इज्जतको शान नभई यो एक गम्भीर समस्या हो ।’


ADVERTISEMENT

# # #


चिकित्सा क्षेत्रमा भने मोटोपनलाई स्वास्थ्यको शत्रु समेत मानिने उनले सुनाए । यसले व्यक्तिमा विभिन्न रोगहरु निम्त्याउनेमा कुनै दुईमत रहेको नरहेको बताउँदै उनले भने, ‘यसकै कारण व्यक्तिमा सामान्य हिडडुल गर्नदेखि सास फेर्नमा समेत असहज महशुस हुन्छ ।’ के उसोभए मोटोपन आफैँमा रोग हो त ? नेपालकै पहिलो प्रशिक्षित बेरियाट्रिक सर्जन समेत रहेका डा. पोखरेल भन्छन्, ‘हो । यसले शरीरमा अन्य रोगलाई समेत बढावा दिन्छ ।’

उनका अनुसार, मोटोपनको प्रभाव शरीरका अन्य अंगहरु जस्तै, मुटु, मिर्गाैला तथा फोक्सोलगायतका प्रमुख अंगहरुमा समेत रहन्छ । जसकारण पनि मोटो व्यक्तिहरुमा मधुमेह, प्रेसर, कोलेस्टोर, फ्याटी लिभर, पिसिओडी, माइग्रेन, गोडा तथा ढाड दुखाइजस्ता थुप्रै रोगहरुको सम्भावना चुस्त रहन्छ । ‘र, समयमै उपचारको अभावमा व्यक्ति सकसपूर्ण दैनिकीबाट गुज्रिनुका साथै धेरै व्यक्तिले अकालमै ज्यान समेत गुमाउँछन्’, उनले सुनाए ।

हुन पनि विश्व स्वास्थ्य संगठनको आँकडलाई हेर्ने हो भने मोटोपनकै कारण वर्षेनी २.८ मिलियन(२० लाख ८० हजार) मानिसहरुले ज्यान गुमाइराखेका छन् । यस्तै, सन् २०३० सम्म विश्वको आधा जनसंख्या यस समस्याबाट शिकार हुनसक्ने प्रक्षेपण गरिएको छ । जसको घेराबाट नेपाल पनि अछुत छैन । उसोभए मोटोपनबाट बच्न के गर्ने त ? ‘स्वस्थ्य एवम् गुणस्तरीय जीवनशैली नै यसबाट राहत पाउने अचुक उपाय हो’, उनले भने ।

यसबाहेक मोटोपन विलासी जीवनशैलीका कारण मात्रै नभई व्यक्तिमा आणुवंशिकको रुपमा पनि देखिने बताउँदै उनले थपे, ‘केहि समूह भने डाइटिङ तथा व्यायामका बाबजुद पनि आफ्नो तौल नियन्त्रण गर्न असफल रहन्छन् । त्यस्ता व्यक्तिको हकमा भने ‘बेरियाट्रिक सर्जरी’ उत्तम उपाय हो ।’

के हो बेरियाट्रिक सर्जरी ? कसले गराउने ?

बेरियाट्रिक सर्जरी मोटोपन घटाउने सर्जरी हो । ल्याप्रोस्कोपीको माध्यमबाट गरिने यस सर्जरीमार्फत व्यक्तिको शरीरमा रहेको झण्डै ७५–९५ प्रतिशत अतिरिक्त तौल कम गर्न सकिन्छ ।

विशेषतः व्यायाम तथा डाइटिङजस्ता पुरानो शैलीबाट तौल घटाउन नसकेका व्यक्तिहरुले यसमार्फत आफ्नो तौल नियन्त्रणमा ल्याउन सक्छन् । कति शारीरिक वजन भएकाले यो विकल्प अपनाउन सक्छन् ? भन्ने प्रश्नको प्रतिउत्तर गर्दै उनले भने, ‘धेरैजसोलाई कस्तो र कत्रो शारीरिक बनावटलाई मोटोपन मान्ने भन्ने जिज्ञासा पनि हुन सक्छ । यससन्दर्भमा शरीरको उचाई अनुसारको तौल अर्थात् बिआईएम मापन गर्न सकिन्छ ।’

उनका अनुसार, शरीरको उचाईको तुलनामा हुनुपर्ने तौलभन्दा २५ केजी माथि तौल भएका वा शरीरको बिआईएम हिसाब गर्दा एक स्वस्थ व्यक्तिको हकमा ३५ र दिर्घरोग भएका र नियमित औषधि सेवन गरिरहेका व्यक्तिको बिआईएम २७.५ भएका व्यक्तिहरुले बेरियाट्रिक सर्जरी गराउन सक्छन् । यस्तै, ५ वर्षदेखि ८० वर्षसम्मका समूहले यस सर्जरीमार्फत लाभ लिन सक्ने उनले बताए ।

नेपालमा बेरियाट्रिक सर्जरीको अवस्था यसका चुनौती

नेपालको सन्दर्भमा बेरियाट्रिक सर्जरीको अवस्था लगभग शुन्य नै रहेको डा. पोखरेलको भनाई छ । नेपालका निम्ति यो नयाँ विषय भएकाले पनि यसको प्रभावकारिता एवम् यससम्बन्धिको ज्ञान आमव्यक्तिको पहुँचमा पुग्न नसकेको उनले सुनाए । ‘यसलाई बेरियाट्रिक सर्जरी क्षेत्रको चुनौतीको रुपमा पनि लिन सकिन्छ’, उनले भने ।

पछिल्लो दुई महिनाको अन्तरालमा यसका ८ वटा सर्जरी सम्पन्न गरिएको अनुभव सुनाउँदै उनले भने, ‘यसबारे आमव्यक्ति क्रमिक रुपमा जानकारक हुँदै नगएका पनि होइनन् । यद्यपि यससम्बन्धि उचित ज्ञान प्रवाहका लागि भने सरकारी स्तरबाटै थालनी गर्नुपर्ने देखिन्छ ।’

बेरियाट्रिकको सन्दर्भमा आम जनता मात्रै नभई चिकित्सा क्षेत्रमै पनि यसको दायरा साघुँरो रहेको उनको भनाई छ । हुनपनि नेपालमा यसै विषयमा अध्ययन गरेर दक्ष भएका चिकित्सकको संख्या अति नै न्यून छ । तसर्थ डा. पोखरेलले भनेजस्तै यससम्बन्धि सरकारी निकायमार्फत नै आधारभूत तहदेखि चिकित्सा शिक्षाको क्षेत्रमा समेत उचित जनचेतनाका प्रवाह गरिनुपर्ने देखिएको छ ।