काठमाडौं – अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मेक्सिकोलाई पराजित गरेको छ । दोस्रो हाफमा कप्तान लिओनेल मेस्सी र एन्जो फर्नान्डेजले गरेको गोलमा अर्जेन्टिनाले २-० को जित हासिल गरेको हो ।


ADVERTISEMENT


लुसेल रंगशालामा भएको पहिलो हाफमा अर्जेन्टिनाले सोचेजस्तो प्रदर्शन गर्न सकेन । मेक्सिकोविरुद्ध काउन्टर अट्याककै भरमा रहेको अर्जेन्टिनाले डिफेन्समा पनि दबाब खेप्नुपरेको थियो । दोस्रो हाफमा भने मिडफिल्ड र विंगब्याकमा परिवर्तनपछि अर्जेन्टिना खेलमा फर्कियो । कप्तान मेस्सीले गोल गरेपछि संयमित प्रदर्शन गर्दै अघि बढेको अर्जेन्टिनाले अन्त्यतिर दोस्रो गोल थप्दै नकआउट चरण पुग्ने समीकरण आफ्नै पकडमा राखेको हो ।


ADVERTISEMENT

# # #


अर्जेन्टिनाका लागि खेलको ६४ औं मिनेटमा मेस्सीले सुरुवाती गोल गरेका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट मेस्सीले गरेको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । गोलरक्षक गोलेर्मे ओचोआले सहि दिशामा डाइभ दिएपनि उनी बलसम्म पुग्न सकेनन् ।

मेक्सिको बराबरी गोलको खोजीमा लगातार आक्रमण गरिरहँदा अर्जेन्टिनाले ८७ औं मिनेटमा दोस्रो गोल थप्यो । बेन्चबाट मैदान पस्दै मिडफिल्ड चलायमान बनाएका एन्जो फर्नान्डेजले सुन्दर गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । उनले मेस्सीको पासलाई पेनाल्टी क्षेत्रभित्र लिएपछि डिफेन्डरलाई छक्याएर गरेको प्रहारलाई गोलरक्षक ओचोआले बचाउने कुनै अवसर पाएनन् ।