काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बागलुङमा ४ दशमलव ५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकोमा अहिले मत बदर सङ्ख्या घटेर ४ दशमलव ५२ प्रतिशतमा झरेको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभा र प्रदेशसभामा खसेको एक लाख पाँच हजार आठ सय ४६ मतमध्ये चार हजार सात सय ८९ बदर भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए । भट्टकाअनुसार अझै मत बदर सङ्ख्या घटाउने आयोगको तयारी भए पनि नागरिकको राजनीतिप्रतिको वितृष्णा, अशिक्षा र मतदाता शिक्षाको पहुँच नपुग्नुका कारण मत बदर भएको हो । डा भट्टकाअनुसार स्थानीय तहमा भएको मत बदरभन्दा अहिलेको मत बदर सङ्ख्यामा उल्लेख्य मात्रमा सुधार भएको छ ।


ADVERTISEMENT

# # #


बागलुङको क्षेत्र नं १ मा ५४ हजार सात ११ र क्षेत्र नं दुईमा ५१ हजार एक सय ३५ मत खसेको थियो । बागलुङमा मतदाता सङ्ख्याको हिसाबले ५३ प्रतिशत मत खस्दा चार हजार सात सय ८९ मत बदर भएको छ ।

बागलुङ क्षेत्र नं १ मा ५४ हजार सात सय ११ मत खसेकोमा एक हजार सात सय १४ मत बदर भई ५२ हजार सात सय ८० मत सदर भएको थियो भने बागलुङ क्षेत्र नं २ मा ५१ हजार एक सय ३५ मत खस्दा तीन हजार ७५ मत बदर भएर ४८ हजार ६० मत सदर भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए ।

“स्थानीय तहको मत बदर सङ्ख्या उल्लेख्य रहेको भन्दै यसपटक निर्वाचन आयोगले वडातहमा मतदाता शिक्षालाई प्रभावकारी बनाएका कारण मत बदर सङ्ख्या घटेको हो”, भट्टले भने, “मतदाता शिक्षाका कारण बदर मत घटे पनि बदरमतलाई अझै तल झार्नुपर्छ ।” सानो मतपत्र, चुनाव चिह्न थोरै र एक मत पत्रमा एक मात्रै चिन्हमा लगाउनुपर्ने भएकाले बदर मत न्यून हुने अनुमान निर्वाचन आयोगको भए पनि बदर मत चार प्रतिशत भएको हो ।

स्थानीय तहको तुलनामा थोरै भए पनि अहिलेको राजनीतिक दलको सक्रिय मतदाता शिक्षा, निर्वाचन आयोगले स्थानीय तहसँग मिलेर गरेको मतदाता शिक्षालगायतको सक्रियता हेर्दा मत बदर दुई प्रतिशतभन्दा थोरैमा लैजाने लक्ष्य भए पनि सोचेजस्तो नभएको हो ।

मतपत्र बदरमा भने एकरुपता नदेखिएको मत गणनामा सहभागी कर्मचारीले बताएका छन् । चुनाव चिह्नभन्दा बाहिर गएर छाप लगाउनु स्वभाविक मत बदर भए पनि सबै चुनाव चिह्नमा छाप लगाउनु, छाप नै नलगाएको मतपत्र खसाल्नुजस्ता बदर मतका उदारण हुन् । बदर मतमध्ये अधिकांश जानीबुझीसमेत मतलाई बदर बनाइएको देखिन्छ भने केही अज्ञानता र शिक्षाको कमीका कारणले मत बदर बनाइएको पाइएको गणनामा बसेका कर्मचारी बताउँछन् ।

स्थानीय तहको निर्वाचनको समयमा एउटै मतपत्रमा धेरै ठाउँमा छाप लगाउनुपर्ने पर्दा धेरै मत बदर भएको पाइएको थियो । त्यसैले भूलवश या नजानेर पनि मत बदर हुने सम्भावना धेरै थियो । तर, अहिले मतदान धेरै सजिलो भए पनि मत बदर भएको पाइएको छ ।

एक मत पत्रमा छ वटा चुनाव चिह्न समेतमा छाप लगाएको पाइएको बागलुङ क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । रिजालका अनुसार दूर्गम गाउँसम्म मतदाता शिक्षा नपुगेको र एउटै व्यक्तिले चार मतपत्रमा छुट्टाछुट्टै छाप लगाउनुपर्ने राजनैतिक दलको गठबन्धनका कारण धेरै मत बदर भएको पाइएको छ ।

“गठबन्धन गरेका दललाई मतदाता शिक्षामा बढी समस्या देखिएको छ, समानुपातिकामा आफ्नो पार्टीलाई, सङ्घमा अर्को चुनाव चिह्नमा र प्रदेशमा अर्को चुनाव चिह्नमा मत हाल्नुपर्ने अवस्थाले मत बदर भएको पाइयो”, रिजालले भने, “शिक्षाको अभाव, राजनीतिक चेतनाको अभाव र राजनीतिकदलको वितृष्णाका कारणसमेत मत बदर भएको देखिन्छ । रासस