सप्तरी– मङ्सिर ४ को निर्वाचनसम्म धेरैको अनुमान थियो सप्तरी क्षेत्र नं २ मा यसपटक नयाँ इतिहास कायम हुनेछ । तर त्यो अनुमान फेल भयो किनभने यहाँ यो निर्वाचनमा पनि नयाँ अनुहारको विजय भयो । यो निर्वाचन क्षेत्रले पुरानै इतिहास कायम गर्दै यसपटक पनि जनप्रतिनिधिका रुपमा नयाँ अनुहार निर्वाचित गरेको छ ।


ADVERTISEMENT


अहिलेसम्मका निर्वाचनमा जनप्रतिनिधिका रुपमा नयाँ अनुहार निर्वाचित हुँदै आएको यो निर्वाचन क्षेत्रमा यसपटक पनि जनमत पार्टीका अध्यक्ष डा सीके राउत निर्वाचित भए । डा राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । डा राउतको ३५ हजार ४२ मत र यादवको १६ हजार नौ सय ७९ मत रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गत २०७४ सालको निर्वाचनमा जसपा अध्यक्ष यादव यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यस क्षेत्रमा एकपटक निर्वाचित भएका जनप्रतिनिधि पुनःदोहोरिएका छैनन् । पुनःनिर्वाचित भएर सो क्षेत्रमा नयाँ इतिहास कायम गर्ने योजनामा रहेका यादवलाई पनि यस क्षेत्रका मतदाताले छानेनन् । विसं २०४८ को राजनीतिक परिवर्तनयता भएका सात वटा निर्वाचनमा यस क्षेत्रले फरकफरक पार्टीका फरकफरक व्यक्तिलाई जनप्रतिनिधि चुनेको छ ।

विसं २०४८ को निर्वाचनमा नेपाली कांग्रेसबाट हरिप्रसाद राय विजयी भएका थिए । २०५१ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रेणुकुमारी यादव, २०५६ मा तत्कालीन नेपाल सद्भावना पार्टीका अनिस अन्सारी निर्वाचित भएका थिए ।

विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन सद्भावना पार्टीबाट महेश यादव र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेकपा ९माओवादी केन्द्र०का उमेशकुमार यादवले संविधानसभा सदस्य बन्ने अवसर यसै क्षेत्रबाट पाएका थिए ।

त्यसैगरी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जसपा अध्यक्ष यादव विजयी भएका थिए । यस निर्वाचनमा भने जनमत पार्टीका अध्यक्ष डा राउतले पहिलो पटक प्रतिनिधिसभा सदस्यका रुपमा संसद्को यात्रा तय गरेका हुन् ।

राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका गरी चार पालिका रहेको सो क्षेत्रमा ९५ हजार तीन सय ९४ मतदाता छन् । गत आइतबार सम्पन्न निर्वाचनमा कूल ६४ हजार पाँच सय ६० मत खसेको थियो ।

संयुक्त राज्य अमेरिकाको नासाको जागिर छाडेर नेपाल फर्केका ४३ वर्षीय डा राउत एक दशकअघि नेपालको राजनीतिमा प्रवेश गर्नुभएका हो । दुई ठूला गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल डा राउतसँग मतदाताको ठूलो अपेक्षा रहेको राजनीतिक विश्लेषक देवनारायाण यादवले बताए । ‘जुन परिवेश र पृष्ठभूमिमा डा राउतले चुनाव जित्नुभएको छ पक्कै पनि उनका लागि यात्रा तय गर्न सहज छैन’, उनले भने, ‘निर्वाचनका बेला लोकप्रिय नाराप्रति मतदाताको आकर्षण धेरै बढेको छ, त्यसलाई सहीरुपमा सम्बोधन गर्नु चुनौती छ ।’

नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले मतदाताको चाहना, भावनाअनुसार इमान्दारितापूर्वक काम गर्नुपर्ने उनको काँधमा जिम्मेवारी आएको बताए । यसका साथै सप्तरीको विकासका लागि सञ्चालन भएका रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नरसिंह कलेज, इञ्जिनियरिङ कलेज सञ्चालन, कृषि विश्वविद्यालय जस्ता योजनालाई मूर्तरुप दिनुपर्ने यादवको सुझाव छ ।

डा राउतले मतदाताले आफूमाथि गरेको भरोसा टुट्न नदिने बताउँछन् । ‘मलाई सप्तरीका जनताले ठूलो आशा र भरोसा गरेर जिताएका छन्’, उनले भने, ‘जनताको विश्वास र भरोसालाई टुट्न दिन्न, जनादेशलाई शिरमा राखेर काम गर्नेछु ।’ आफ्नो पहिलो कार्ययोजना सरकारी सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने उनले बताए ।

सप्तरीलाई शतप्रतिशत शिक्षित जिल्ला बनाउनु, विकराल रहेको कुपोषणलगायतका स्वास्थ्य समस्यालाई हल गर्दै शतप्रतिशत जनताको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउनु, हरेक परिवारलाई रोजगारीसँग जोड्नु र किसानलाई सहजरुपमा मलखाद्य, बीउबिजन र सिँचाइको व्यवस्था गर्नु आफ्नो एजेण्डा रहेको डा राउतले सुनाए । रासस