सप्तरी – विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा यूटर्न भएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाएका हुन् । डा राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।


ADVERTISEMENT


मतगणनाको अन्तिम परिणामअनुसार डा राउतले ३५ हजार ४२ मतसहित निर्वाचित हुँदा यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लोसपाका नेता जयप्रकाश ठाकुरले भने सात हजार तीन सय ४४ मत मात्र प्राप्त गरे। कूल ९५ हजार तीन सय ४४ मतदाता रहेको सो क्षेत्रमा गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६४ हजार पाँच सय ६० मत खसेको थियो ।


ADVERTISEMENT

# # #


को हुन् डा सिके राउत ?

जनमत पार्टीका अध्यक्ष राउत सप्तरीको महदेवा गाउँपालिकाका स्थायी बासिन्दा हुन् । संयुक्त राज्य अमेरिकाबाट नासाको वैज्ञानिक पेसा छाडेर एक दशकअघि उनी नेपाली राजनीतिमा प्रवेश गरेका हुन् । बेलायतको क्याम्ब्रिज युनिभर्सिटिबाट विद्यावारिधि गरेका ४३ वर्षीय डा राउत अमेरिकामा बसेर काम गर्दै आएका थिए ।

राजनीति गर्ने उद्देश्यले सन् २०११ मा नेपाल फर्किएका डा राउत ‘स्वतन्त्र मधेस’ स्वराजको अभियान बोकेर देशव्यापी सङ्गठन निर्माणमा जुटेका थिए ।

स्वतन्त्र मधेस गठबन्धन नामक पार्टी स्थापना गरेर छ वर्ष लामो अभियान चलाएका डा राउत सो क्रममा पटकपटक राज्य विप्लवको मुद्दामा पक्राउ परेर जेलसमेत परे। गत २०७५ साल फागुन २४ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग ११ बुँद्दे सहमति गरेर मूलधारको राजनीतिमा उनी सहभागी भए ।

त्यसपश्चात् उनले स्वतन्त्र मधेस गठबन्धन पार्टी विघटन गरी जनमत पार्टी गठन गरे । निरन्तर सङ्गठन विस्तारमा जुटेका डा राउत सङ्गठनकै बलमा चुनावी मैदानमा उत्रिएका थिए । डा राउत नेतृत्व जनमत पार्टी नेपाली राजनीतिमा यतिबेला नयाँ शक्तिको रुपमा उदाएको देखिन्छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको विकास गर्नु प्रमुख लक्ष्य हो ः डा राउत

सप्तरीको क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा राउतले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको विकास नै आफ्नो प्रमुख लक्ष्य भएको बताएका छन् ।

राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्द डा राउतले आफ्नो पहिलो एजेण्डा नै शिक्षा, स्वास्थ्य, रोजगारी र किसानको समस्या समाधान गर्नुरहेको बताए ।

“मलाई सप्तरीका जनताले यी एजेण्डामा काम गर्नकै लागि जनादेश दिएका छन्”, उनले भने, “जनताको विश्वास र भरोसालाई टुट्न दिन्न्, जनादेशलाई शिरमा राखेर काम गर्ने छु ।” आफ्नो पहिलो कार्य योजना नै सरकारी सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने रहेको उनको भनाइ थियो ।

सप्तरीलाई सतप्रतिशत शिक्षित जिल्ला बनाउनु, विकराल रहेको कुपोषणलगायतका स्वास्थ्य समस्यालाई समाधान गर्दै सतप्रतिशत जनताको स्वास्थ्यमा सहज पहुँच पुर्याउनु, हरेक परिवारलाई रोजगारीसँग जोड्नु र किसानलाई सहजरुपमा मलखाद्य, बीउबिजन र सिँचाइको व्यवस्था गर्नु आफ्नो एजेण्डा रहेको डा राउतले सुनाए । राजनीतिक संस्कृतिको विकास गर्न जनताले आफूमाथि भरोसा गरेर जिताएको उल्लेख गर्दै डा राउतले आफूलाई मतदान गरेर विजयी बनाएमा मतदातालाई धन्यवादसमेत ज्ञापन गरे । रासस