काठमाडौं –  नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले न्यूनतम बल प्रयोगको सिद्धान्त अनुसार विशेष चारवटा अवस्थामा निर्वाचन सुरक्षाका लागि सिधै गोली चलाउन निर्देशन दिएका छन् ।


ADVERTISEMENT


विशेष चार अवस्थामा निर्वाचन सुरक्षाका लागि आईजीपी सिंहले निर्वाचनको फ्रन्ट लाइनमा रहेको नेपाल प्रहरीलाई कसैलाई पनि सोध्नु नपर्ने गरी गोली चलाउने सम्मको सर्कुलर जारी गरिएको   जानकारी दिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


स्थानीय प्रशासन ऐन, २०२८ ले शान्ति, सुरक्षा कायम हुन नसक्ने अन्तिम विकल्पमा  सुरक्षाकर्मीले गोली चलाउनसक्ने भनिए पनि   महानिरीक्षक सिंहले चुनाव विशेष परिस्थिति भएकाले यसलाई विथोल्न खोज्ने तत्वलाई रोक्न चार अवस्थामा सिधै गोली चलाउने आदेश दिइएको बताएका हुन् ।

आईजीपी सिंहले निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सांघातिक आक्रमण, निर्वाचन वा मतदान अधिकृतमाथि आक्रमण, मतपत्र वा पेटिका च्यात्ने वा फोड्ने अवस्थामा   गोली चलाउन सक्ने गरी निर्देशन जारी गरिएको बताए  ।

आईजीपी सिंहले मधेश प्रदेशमा  अपराधीको प्रयोग गरेर निर्वाचन बिथोल्ने गतिविधि भएमा पनि प्रहरी मूकदर्शक नबन्ने बताए ।आईजीपी सिंहले भने, ‘त्यस्तो अवस्थामा पनि गोली चलाउन आदेश पर्खिरहन पर्दैन।’

आईजीपी सिंहले थपे, ‘हालसम्म नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवाद), तराई मधेश जनता पार्टी (टाइगर्स), विप्लव समूहबाट टुक्रिएको धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले निर्वाचन सुरक्षामा खतरा सिर्जना गर्नसक्ने देखिएको छ ।’

विभिन्न समूहका निर्वाचन सुरक्षामा खतरा देखिएका  ८० बढी नेता, कार्यकर्तालाई पक्राउ गरेको कारण विशेष अवस्था सिर्जना नहुने आईजीपी सिंहको दाबी छ ।

आईजीपी सिंहले  प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बताउँदै देशैभर शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न हुने पनि बताए । उनले भने, ‘हरेक जिल्लामा प्रहरीले सुरक्षा गस्ती बढाएको छ । आकस्मिक चेकजाँचमा जोड दिएको छ महत्वपूर्ण प्रतिष्ठान, संरचना तथा क्षेत्रहरुमा पनि विशेष निगरानी गरिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको वरपर मानिसहरुलाई हिँड्डुल गर्न निषेध गरिएको छ । डोरी लगाएर नजिक जानै दिइएको छैन भने नेपाली सेनाले पनि वरिपरि गस्ती गरिरहेको छ । अन्य महत्वपूर्ण क्षेत्रमा पनि चेकजाँच तीब्र पारिएको  छ ।’

आईजीपी सिंहले शान्ति सुरक्षा मजबुत भएकाले  सबै मतदातालाई आ–आफ्नो केन्द्रमा गएर ढुक्कसँग मतदान गर्न पनि आग्रह गरे ।