भरतपुर– आसन्न निर्वाचनका लागि प्रचारप्रसार गर्ने अवधि तीन दिन मात्रै बाँकी छ । आइतबार हुने निर्वाचनको मौन अवधि बिहीबारदेखि सुरु हुनेछ । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने भएपछि चितवनका उम्मेदवारे घरदैलो अभियानलाई तीव्र पारेका छन् ।


ADVERTISEMENT


तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा गठबन्धन दल र एमालेबीच मूख्य प्रतिस्पर्धा हुने देखिए पनि यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनौती दिने मतदाताको आँकलन छ ।


ADVERTISEMENT

# # #


प्रमुख राजनीतिक दलहरुले भरतपुरमा चुनावीसभा पनि सम्पन्न गरिसकेका छन् । सत्ता गठबन्धनले शनिबार भरतपुरको गेष्टहाउस चौरमा जनसभा आयोजना ग¥यो भने सोही ठाउँमा ने नेकपा (एमाले) ले सोमबार जनसभा सम्पन्न ग¥यो ।

शनिबारको जनसभालाई सम्बोधन गर्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै केही वर्ष यही गठबन्धन कायम रहने भन्दै आफ्ना उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वामगठबन्धनले चुनाव जित्नुपर्ने धारणा राखे ।

सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई जनमत सङग्रहको संज्ञा दिँदै गठबन्धनका उम्मेदवार विजयी भए मात्र देशमा स्थायित्व कायम हुने बताए ।

उनले चितवनबाट गोरखा जानुको कारण बताउँदै आफू चितवनकै स्थायी बासिन्दा भएको प्रष्ट पारे । प्रचण्डले निर्वाचनपछि गठबन्धनको सरकार बन्ने बताउँदै उम्मेदवारहरुलाई मत मागे ।

गठबन्धनले सभा गरेको दुई दिनपछि सोही ठाउँमा एमालेले आयोजना गरेको जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार निर्माण भएमात्रै देशमा स्थिर सरकार आउने दाबी गरे ।

गठबन्धन र एमाले दुवैका जनसभा सकिएपछि प्रमुख पार्टीका उम्मेदवार आज र भोलि जनमत धेरै भएको क्षेत्रमा केन्द्रित घरदैलो र कोणसभा गर्दैछन् । उम्मेदवार व्यक्तिगत रुपमा मतदाता भेट्ने र फोन गरेर समेत मत मागिरहेका छन् ।

घरदैलोका क्रममा भेट्न नपाएका मतदातालाई गठबन्धनका उम्मेदवारले फोनमार्फत कुरा गरेर मत मागिरहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए ।

उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अन्तिम कसरतमा लागेको भन्दै पार्टीले कार्यकर्ता व्यापक रुपमा परिचालन गरेको जानकारी दिए ।

माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले धेरैभन्दा धेरै मतदाता भेटघाट गर्न उम्मेदवार घर–घरमा गइरहेको बताए । उनले निर्वाचनको सङ्घारमा कुन उम्मेदवारलाई मत दिने भन्ने निर्णय नगरिसकेका मतदातालाई आफ्नो पक्षमा पार्न गठबन्धनका पार्टी लागिरहेको जानकारी दिए ।

नेकपा (एमाले) चितवनका उपसचिव प्रकाश ढुङगानाले पार्टीका उम्मेदवार अवको तीन दिन घरदैलो र जनता भेटघाटमा नै केन्द्रित हुने बताए । उनले मौन अवधि सुरु हुनुभन्दा अगाडि तीन वटै निर्वाचन क्षेत्रमा मतदातालाई नै भेटघाटका कार्यक्रम तय गरिएको जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने यसपटक जनसभाको आयोजना नगर्ने तर घरदैलो र कोणसभा भने मौन अवधि सुरु हुनुभन्दा अघिसम्म गर्ने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले पार्टीले घरदैलोलाई नै प्राथमिकता दिएको भन्दै आज एक दर्जन बढी ठाउँमा भेटघाटका कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने अन्तिम कसरतका रुपमा मङ्सिर १ गते नारायणी नदी किनारमा जनसभा गर्ने जनाएको छ । पार्टी अध्यक्ष रवि लामिछानेले तीन दिन चितवन केन्द्रित घरदैलो गर्ने बताए।

चितवनका तीनवटै निर्वाचन क्षेत्रमा स्वतन्त्र रुपमा उम्मेदवार बनेकाहरुले पनि मतदाता रिझाउन अन्तिम दौडधूपमा लागेका छन् । जिल्लामा चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् । रासस