काठमाडौँ – प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा (एमाले) बाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोको रूपमा हेरिएको छ ।


ADVERTISEMENT


प्रदेशसभातर्फ क्षेत्र नं १ को (१) मा सत्तागठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारी मैदानमा रहेका छन् भने क्षेत्र नं १ को (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का लोकप्रसाद भूर्तेल र एमालेबाट रोशनबहादुर गाहाले उम्मेदवारी दिएका छन् ।


ADVERTISEMENT

# # #


विसं २०४८ देखि यो क्षेत्रमा निरन्तर नेपाली कांग्रेसले जित्दै आएकाले यसपटक पनि कांग्रेस आफ्नो विरासतलाई निरन्तरता दिने प्रयत्नमा छ । कांग्रेसको विरासत यसपटक भत्काउने प्रयत्नमा एमाले रहेको छ । यो क्षेत्रमा चौथो पटक निर्वाचन लडेका कांग्रेसका शशाङ्क कोइरालाले विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भविश्वर पराजुलीलाई चार हजार २४ मतान्तरले हराएका थिए ।

यसपटक परिदृश्य विसं २०७४ को जस्तो छैन । त्यो बेलाको वाम घटकको महत्वपूर्ण दल माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनका साझा उम्मेदवारका रूपमा कांग्रेसका कोइरालालाई अगाडि सारेकाले पनि कोइरालाले सहज जित्ने आकलन यो क्षेत्रमा गरिएको छ ।

यद्यपि यो निर्वाचन क्षेत्रमा पर्ने ५२ वटा वडामध्ये गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २६, एमालेले २५ र माओवादी केन्द्रले एउटा वडाको वडाध्यक्षमा जित निकालेका थिए । यो क्षेत्रमा नेपाली कांगे्रसका वडाध्यक्षका उम्मेदवारले ४० हजार पाँच सय ११, एमालेको ३९ हजार नौ सय ५१, राप्रपाको दुई हजार तीन सय ७३, माओवादीको एक हजार नौ सय २१ र जसपाका उम्मेदवारले एक सय ८८ मत पाएका थिए ।

निर्वाचन क्षेत्र नं १ मा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीसहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख ६० हजार चार सय ६१ मतदातामध्ये यहाँ एक लाख ३१ हजार एक सय ८० मतदाता रहेका जिल्ला निर्वाचन प्रमुख लालप्रसाद भुसालले जानकारी दिए । क्षेत्र नं १ प्रदेशसभा (१) मा ६३ हजार पाँच सय ३५ र प्रदेशसभा (२) मा ६७ हजार छ सय ४६ मतदाता छन् ।

गत स्थानीय तहको निर्वाचनमा तीन पालिकामध्ये एकमा नेपाली कांग्रेस र दुईमा एमाले विजयी भएको थियो । गैँडाकोट नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेसले, देवचुली नगरपालिकाको प्रमुख र उपप्रमुख एमाले र बुलिङ्टारको अध्यक्षमा एमाले र उपाध्यक्ष कांग्रेसले जितेको थियो ।

चौथो पटक यही क्षेत्रबाट मैदानमा उत्रिएका कोइरालाले मनोनयनकै दिन आफू प्रधानमन्त्री पदको दाबेदार भएको बताउँँदै मतदातालाई रिझाउन सुरु गरिसकेका छन् । आफूले पटकपटक बाचा गर्दै आएको ट्रमा सेन्टर, रङ्गशालालगायतका महत्वाकांक्षी योजना चालु आवको सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको भन्दै कोइरालाले मत मागेका छन् । देशभरमै कांग्रेसको बलियो क्षेत्रमध्येको एक मानिएको यो क्षेत्रमा विसं २०४८ देखि निरन्तर कांग्रेसले निर्वाचन जित्दै आएको छ । रासस